Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कहिले बन्छ अरनिको राजमार्ग अन्तरगतको मुडे–चरिकोट सडक ?

५ मंसिर, दोलखा – काठमाडौँ–चरिकोट सडकको मुडे–चरिकोट खण्ड निर्माणमा भएको ढिलासुस्ती विरुद्ध दोलखाका नागरिक आन्दोलित भएका छन् । आन्दोलनको क्रममा आज दोलखाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई चरिकोट मुडे सडक कहिले बन्छ ? जतनाले प्रश्न गरेका छन् । २०७२ सालमा स्तरोन्नतिको लागि ठेक्का लागेर काम सुरु भएको सो सडक खण्ड ६ वर्षभन्दा लामो समयसम्म पनि नबनेपछि दोलखाबासी आन्दोलित भएका हुन् । आन्दोलनको लागि नागरिक समाज दोलखाले संघर्ष समिति नै बनाएका छन् ।

मुडे– चरिकोट सडक स्तरउन्नतिमा भएको ढिलासुस्ती विरुद्ध भैरहेको संघर्षको कार्यक्रमको क्रममा शनिवार दोलखाबाट प्रतिनिधित्व गर्ने संघीय एवं प्रदेश सांसदसंग स्थानीयले किन सडक स्तरोन्नतिको काममा ढिला भएको भन्दै जवाफ मागेका हुन् ।

दुई वर्षमा स्तरोन्नतिको काम सम्पन्न गरिसक्नुपर्ने मुडे–चरिकोटको ३० किलोमिटर सडक ६ वर्षमा पनि अलपत्र राखेपछि स्थानीयले दोलखाबाट प्रतिनिधित्व गर्ने संघीय एवं प्रदेश सांसदहरुसँग काममा भएको ढिलाइ र ढिलाइ गर्ने ठेकेदारको ठेक्का नतोडिनुको कारण सोधेका हुन् ।

संघर्ष समितिले दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने संघीय एवं प्रदेशसभाका आठजना सांसदलाई निमन्त्रण गरिएको भए पनि नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने दुईजना संघीय र एकजना प्रदेश सांसदको मात्र सहभागिता थियो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुको जिज्ञासाको जवाफ दिने क्रममा नेकपा एमालेका संघीय सांसद एवं पुर्वमन्त्री पार्वत गुरुङले सडक स्तरोन्नतिमा भएको ढिला सुस्तीका कारण दोलखालीले भोग्नुपरेको पीडाको आफूलाई पनि अनुभूति भएको उल्लेख गर्दै ठेकेदारलाई चाँडो काम गराउन आफूले धेरै पहल गरेको दावी गरे । उनले आन्दोलन गरिरहेका स्थानीयवासीलाई आन्दोलन निरन्तर अघि बढाउन आग्रह गर्दै सो आान्दोलनमा आफू पनि सहभागी हुने बताए ।

कार्यक्रममा समानुपातिक संघीय सांसद् शान्ति पाख्रिन र प्रदेश सांसद् रचना खड्काले पनि संघर्षमा आफूहरुको पनि पूर्ण साथ रहेको बताए । भीमेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हरिशरण शिवाकोटी, वडा नम्बर ६ का अध्यक्ष नविन लामा, वडा नम्बर ७ का अध्यक्ष कैलाश श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष नकुल केसी, वडा नम्बर ९ को अध्यक्ष चित्रबहादुर भुजेल, संघर्ष समितिका सहसंयोजक रमेश खड्का लगायतले दोलखाबाट प्रतिनिधित्व गर्ने सांसद्हरुले सडक छिटो निर्माण गर्न तथा ढिलाई गर्ने ठेकेदारको ठेक्का तोड्न कुनै पहल नगरेको भन्दै आक्रोस पोखेका थिए । कार्यक्रमको अध्यक्षता संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले गरेका थिए ।

यसअघि संघर्ष समितिले संघर्षका विभिन्न कार्यक्रमहरु आयोजना गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE