Date
आइत, चैत्र २२, २०८२
Sun, April 5, 2026

चीनले पठाएका स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण, ८ लाख डोज खोप लिन सोमबार राति नेपाल एयरलाइन्सको चार्टर्ड विमान जाने

चीनले पठाएका स्वास्थ्य सामाग्री नेपाललाई हस्तान्तरण, ८ लाख डोज खोप लिन सोमबार राति नेपाल एयरलाइन्सको चार्टर्ड विमान जाने

१६ जेठ, काठमाडौं– चीनले कोरोना महामारीसँग लड्नका लागि दास्रो चरणमा सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

चीन सरकारले अतिरिक्त अनुदान अन्तर्गत उपलब्ध गराएको ३५ सय अक्सिजन सिलिण्डरमध्ये १५ सय थान सोमबार केरुङ नाकामा नेपाललाई हस्तान्तरण गर्ने भएको छ ।

यस्तै चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्री पनि आइतबारै तातोपानी नाकामा हस्तान्तरण गरिएको छ । तिब्बत सरकारले पठाएको स्वास्थ्य सामग्रीहरुमा ८०० थान अक्सिजन सिलिण्डर, २०० थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ हजार एन्टिजेन किटलगायत छन् ।

यसैगरी चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख डोज कोरोनाविरुद्धको खोपमध्ये ८ लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान सोमबार राति बेइजिङ जाने पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE