मौसम : अझै तीन दिन भारी वर्षा हुने
२ असार, काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावन रहेको जनाएको छ । अधिक वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।
“मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ यो अझै तीन दिन सक्रिय रहने देखिन्छ”, मौसमविद् बासीले सवाल समिडियालाई जनाकारी दिनुभयो । उहाँका अनुसार आगामी शनिबार सम्म देशभर वर्षा हुने सम्भावना छ भने शनिबार पछि क्रमिक सुधार हुने छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।
महाशाखाको दैनिक मौसम बुलेटिनमा “कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भूभागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, उल्लेख छ । बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ ।
पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा छ । महाशाखाका अनुसार, यहाँ १ सय १० दशमलब ५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२ दशमलब २ मिलिलिटर पानी परेको छ । काठमाडौँमा पछिल्लो २४ घण्टामा १२ दशमलब ४ मिलिलिटर मात्र पानी परेको महाशाखाको अभिलेख छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE