प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर धोका दिन्न : नेता नेपाल
१२ असार, काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । शेरबहादुर देउवाको साटो आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको, तर आफूले स्वीकार नगर्ने उहाँले बताउनुभयो ।
गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग भएको छलफलमा एमाले नेता नेपालले भन्नुभयो, माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई विचैमा पत्तासाफ गर्नुस्, तपाई भइहाल्नुस् ।’
एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्ने बताएका थिए ।
तर नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताएका छन् । उहाँले भन्नुभयो, ‘माधव नेपाल धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन ।’
राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै उहाँले ओलीसँग सहकार्यको सम्भावना नरहेको बताउनुभयो ।
सम्बोधनका क्रममा उहाँले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभएको छ । ओलीमा सत्ता उन्माद रहेको भन्दै नेता नेपालले भन्नुभयो, ‘शक्ति, सरकार र पैसाको मात लागिसकेपछि मान्छेलाई नियन्त्रण गर्न गाह्रो हुँदोरहेछ, ओलीलाई यही भएको हो ।’
नेकपामा रहँदा पनि प्रधानमन्त्री पद त्याग्नुपरे कुर्सी भाचिदिन्छु भनेको प्रसँग निकाल्दै नेता नेपालले अहिले पनि त्यो ओलीमा त्यो प्रवृत्ति कायमै रहेको बताउनुभयो । ‘उति बेला पनि पद छोड्नुपरे कुर्सी भाचिदिन्छु भन्नुभएको थियो, अहिले शेरबहादुरजीले दावी गर्दा पनि कुर्सी भादिदिनुभयो । प्रतिनिधिसभा विघटन त्यसैको कारण हो,’ पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘न रहे बाँस, न रहे बासुरी ।’

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE