चिकित्सा शास्त्रको स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि, पीसीआर रिपोर्ट अनिवार्य
१६ असार, काठमाडौँ – चिकित्सा शास्त्रतर्फको स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने भएको छ ।
चिकित्सा शिक्षा आयोगले मंगलबार सार्वजनिक गरेको सूचनामा जनाइए अनुसार प्रवेश परीक्षा बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षाको तालिका अनुसार साउन ९ गते शनिवार एमबिबिएस, साउन १० गते आईतबार बिडिएस, साउन ११ गते सोमबार बिएस्सी नर्सिङ, बिएएसएलपी तथा बि।पर्फ्यूजन टेक्नोलोजी, साउन १२ गते मंगलबार बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, एमआईटी, बि। फार्मा, अप्टोमेट्री तथा बिपिटी तथा साउन १३ गते बुधवार बिपिएचको प्रवेश परीक्षा सञ्चालन हुनेछ ।
सूचनामा गत असार ७ गतेको सूचना अनुसार विद्यार्थी स्वयंले छनोट गरेको स्थानमा नै परीक्षा केन्द्र कायम गरिएको छ ।
विदेशी परीक्षार्थी तथा परीक्षा केन्द्र स्थल छनोट गर्न छुटेका उम्मेदवारका लागि काठमाडौं उपत्यकामा परीक्षा केन्द्र कायम हुनेछ ।
परीक्षार्थीहरुलाई परीक्षा हुने दिनको ७२ घण्टाभित्रको कोभिड–१९ को रिपोर्टसहित उपस्थित हुनु पर्नेछ ।
सूचनामा कोभिड पोजिटिभ भएका परीक्षार्थीहरुलाई छुट्टै कोठामा राखी परीक्षा लिइने जनाएको छ ।
त्यसका लागि पोजिटिभ आएका प्रशिक्षार्थीले आयोगलाई इमेलमार्फत अग्रिम जानकारी गराउनु पर्नेछ ।
यो वर्षदेखि यो परीक्षा एकीकृत रुपमा सञ्चालन हुँदैछ ।
यसपटकको परीक्षा काठमाडौं, धरान, पोखरा, चितवन तथा नेपालगञ्जमा परीक्षा केन्द्र तोकिएर सञ्चालन गर्ने तयारी भैरहेको छ ।
आयोजकका अनुसार यसपटकको परीक्षाको लागि ३२ हजार ८०० बढीले फारम भरेका छन्, जसमा एमबीबीएसतर्फ सबैभन्दा बढी फर्म भरिएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE