आज गुरु पूर्णिमा : जीवनमा उज्यालो फैल्याउने गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
९ साउन, काठमाडौँ – आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैले भनिएको छ –
गुरु ब्रम्हा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस् ।
गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
अर्थात् गुरु ब्रह्मा, विष्णु र महेश्वर हुनुहुन्छ।
यस्ता साक्षात् पर ब्रह्म गुरुलाई नमस्कार छ।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन्।
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।
व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश एका छन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE