कोरोना संक्रमणका कारण उदयपुरमा एकै परिवारका तीनको मृत्यु, गाउँ नै शील
कोरोना संक्रमणका कारण उदयपुरमा एकै परिवारका तीनको मृत्यु, गाउँ नै शील
१७ साउन, काठमाडौं– उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुर गाउँमा कोरोना संक्रमणको कारण एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, ७ दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो।
सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको खत्रीले जानकारी दिए।
दुई सातादेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएको हो। अहिलेसम्म गाउँका ६० जनाभन्दा धेरै मानिस बिरामी परेका छन्। शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए ।
स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो। तर, एक हप्तायता पुनः सङ्क्रमण बढ्न थालेको हो।
खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेका कारण आज बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पिसिआर र एन्टिजेन परीक्षण शुरु गर्न लागिएको सुवेदीले बताए।
सङ्क्रमण फैलन थालेपछि खैजनपुरका दक्षिण–पूर्वको भूभाग जोगीदहसम्म र पश्चिम भुल्केसम्म र उत्तर त्रियुगा नदी किनारसम्मको क्षेत्रमा सिल गरिएको छ।
गाउँ सिल गरेसँगै बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको छ। सो समयबाहेकको समय गाउँमा पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले बताए।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE