Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

यसरी मनाइँदैछ इन्द्रजात्रा

२ आश्विन काठमाडौँ –वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान असोज २ गते शनिबार बिहान ६ः५१ बजेको साइतमा गर्ने तयारी भएको छ।इन्द्रध्वजोत्थानको सबै तयारी पूरा भएको छ। इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ।

असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। असोज ८ गते नानिचा यात्रा गरिनेछ। त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ। यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ।

कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो। यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो।

जात्राको तयारीस्वरूप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ मर्मत सम्पन्न गरिएको छ। तीनै वटा रथ शुरु गरिने इन्द्रजात्राको मुख्य दिन असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी वसन्तपुर दरबार क्षेत्रमा आउने कार्यक्रम तय गरिएको संस्थानले जनाएको छ।

भदौ २३ गते बुधबार बिहान १०ः५२ मा वनयात्रा गरी इन्द्रजात्राका कार्यक्रमको सुरुआत भएको थियो। त्यसै दिन बेलुकी बेलुकी ७ः२७ मा लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोका लागि रुख काट्नेलगायत सबै साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो।

भदौ २९ गते बिहान १०ः३४ बजे भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको थियो। इन्द्रजात्रा सुरु भएका विषयमा विभिन्न किम्बदन्ती प्रचलित छ। एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई बाली लगाइएकाले अब बिदा लिनुस् भनी वर्षा अन्त्यको कामना गर्न यो जात्रासँगै विभिन्न देवीदेवताको नाच देखाइने विश्वास गरिने हनुमानढाकोका मूल पुरोहित देवराज अर्यालले बताउनुभयो।

 यसरी मनाइँदैछ इन्द्रजात्रा-रथयात्राको रूटमा सवारी निषेध, जात्राको टोली पनि घटाइने

काठमाडौंको सबभन्दा ठूलो सांस्कृतिक उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा शनिबारबाट सुरू हुँदैछ। हनुमानढोका दरबारअगाडि शनिबार यसिः ९लिंगो० उठाएपछि यो जात्रा औपचारिक रूपमा सुरू हुनेछ।

कोरोना जोखिमबीच उत्सव हुन लागेकाले जतिसक्दो भीड कम गर्ने र सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने निर्णय भएको इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गतको उपसमितिका संयोजक गणपतिलाल श्रेष्ठले बताउनुभयो।

अघिल्लो वर्ष जात्रा गर्नुपर्छ र गर्नुहुन्न भन्नेमा समितिका मान्छेहरू बीचमै विभाजन भएको थियो। यसपटक हामीले सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने भएका छौं,’ श्रेष्ठले बताउनुभयो  ‘आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिनु पनि हाम्रो जिम्मेवारी हो।’

जात्रा सञ्चालनपूर्व व्यवस्थापन समितिले यसमा आबद्ध गुठी, खलः र स्थानीय बुद्धिजीविहरूसँग छलफल गरेको थियो।सबैको सल्लाहअनुसार धेरै भीड नगर्न जात्राकै टोली सकभर घटाउने निर्णय गरिएको श्रेष्ठले बताउनुभयो।

जात्रामा बाजातर्फका मान्छे सबभन्दा धेरै हुन्छन्। माथिल्लो, बीचको र तल्लो टोलका गरी २९ वटा बाजा खलः एकैपटक सहभागी हुन्थे। यसपटक आ–आफ्नो टोलमा आफैंले बाजा बजाउने सहमति भएको छ, उहाँले भन्नुभयो।

एकपटकमा ५०–६० जना मान्छे बाजा बजाउन आउनेमा यसपटक धिमे बजाउने दुई जना र भुस्या बजाउने एक जनालाई मात्र संलग्न गराउन आग्रह गरिएको छ। अघिल्ला इन्द्रजात्रामा प्रायः रथयात्रा ढिला निकालिन्थ्यो। यसपटक दिउँसो ३ बजेतिर तानेर बेलुकी साढे ६ बजेसम्म फर्काइनेछ। रथयात्रा क्रममा भीड कम होस् भनेर कुमारी, गणेश र भैरवको रथ १५–१५ मिनेटको फरकमा गुडाइनेछ। ती रथमा सम्बन्धित मान्छेबाहेक अरूलाई नबस्न आग्रह गरिएको छ।

रथ तान्ने क्रममा विभिन्न ठाउँमा ठोक्किएर समस्या नहोस् भनेर रथलाई राम्ररी निरीक्षण र मर्मत गरिएको छ। साँझ बेला भगवान राम्ररी देखियोस् भनेर रथमा बत्ती पनि जडान गरिएको छ।

जात्रा बेला लाखे आजु, पुलुकिसी र सवाभकूले विधिवत रूपमा सहभागी हुन पाउँछन्। यसपटक भने उनीहरू अन्त पूजा लिन जाने छैनन्। बरू सम्बन्धित गुठी घरमै त्यसको व्यवस्था मिलाइएको छ।

जात्रासँग सम्बन्धित गुठीका करिब तीन सय जनालाई कोरोना खोप पनि लगाइएको छ। जसले खोप लगाएका छैनन् उनीहरूलाई सहभागी नहुन आग्रह गरिएको श्रेष्ठले बताउनुभयो। त्यस्तै, १८ वर्षभन्दा कम र पाका उमेरका मान्छेलाई पनि जात्रामा सहभागी नहुन आग्रह गरिएको छ। यसका लागि केही दिनअघि ७ हजार पर्चा बाँडिएका थिए।

जात्राका रूटमा भीड नियन्त्रण गर्न सवारी निषेध गरिएको छ। सवारी चालकले न्यूरोड, विष्णुमती क्षेत्र, परोपकार केन्द्र र रथ नगुड्ने रूटमा मात्र आफ्नो सवारी राख्न वा चलाउन सक्नेछन्।

कोरोना जोखिमलाई मध्यनजर गदै मास्क अनिवार्य गरिएको छ। छ जना स्वयंसेवक टोलीले २० लिटरको स्यानिटाइजर बोक्नेछ। जात्रा हुने ठाउँमा पटकपटक स्यानिटाइज गरिनेछ। मान्छेलाई हातहातमा पनि लगाउन दिइनेछ। रथ तान्नेहरूलाई पन्जाको पनि व्यवस्था गरिएको छ।

जात्रा नियन्त्रणका लागि प्रहरी, स्काउट र रेडक्रसका स्वयंसेवीहरू खटाइने छन्। कोरोना महामारीका कारण मानव साङ्लोको साटो डोरीले घेरा बनाउनेछ। रथ यात्रा हुने ठाउँमा पहिले नै भीड नियन्त्रण गरिनेछ।

‘जात्रामा भीड त हुन्छ नै, त्यसैले यहाँ आउनेहरू सबैलाई आफैं सचेत र संवेदनशील हुन हामी आग्रह गर्छौं,’ श्रेष्ठले बताउनुभयो ‘तँछाडमछाड गर्दै सबै जना आउनुपर्छ भन्ने छैन। स्थानीयहरूले आफ्नै घरमा बसेर हेर्न सक्छन्। अरूले पनि अहिलेको अवस्था विचार गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट जात्रा हेर्न सक्छन्।’

WRITE COMMENTS FOR THIS ARTICLE