Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक मंगलबार बस्ने

४ आश्विन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बुधबारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो । सो बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ ।

बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल हुनेछ । उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा १ सय १३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । संगठन विस्तारका लागि सदस्यता वितरणको तयारीमा सो पार्टी रहेको छ ।

पार्टीको संगठन विस्तारका लागि वितरण गरिने सदस्यताको फारम अनलाइनबाट उपलब्ध गराइने छ । वामपन्थी पृष्ठभूमि भएका पार्टी सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE