“भ्रष्टाचारीहरुको पैसा कसैले हिफाजत गरिदिँदैन्” : अध्यक्ष ओली
५ आश्विन, काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका गलत कामहरुको भण्डाफोर गर्न अनेरास्ववियुका नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
अनेरास्ववियुको पदाधिकारीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘लोकतन्त्र, केही मान्छे शासनमा पुग्ने प्रणालीमात्रै होईन, लोकतन्त्र भनेको त जनताको अधिकार सुरक्षित गर्ने प्रणाली हो । जनतालाई दुःख दिनु लोकतान्त्रिक आचरण होईन् ।’
उहाँले विद्यार्थी नेताहरुलाई पार्टीले गरेको अपेक्षाअनुसार भूमिका खेल्नसमेत आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो ,‘तपाईहरु युथमात्रै होईन, सचेत युथ हो । तपाईहरु साधारण युथ होईन, लिडर युथ हो । नेता हो । त्यसकारण तपाईँहरुले सचेत नेताको रुपमा भूमिका खेल्नुपर्छ । गुरुत्वाकार्षण तपाईँहरुभित्र हुनुपर्छ । तपाईको विचारले साथीहरुलाई जम्मा गर्न सकोस, ती कामहरुमा ध्यान दिनुहोस भन्ने आग्रह गर्न चाहन्छु ।’
उहाँले लिएर कोही प्रसन्न नहुने भन्दै दिएर प्रसन्न हुने पनि सुनाउनुभयो । उहाँले भन्नुभयो ,‘त्याग गर्नुजत्ति आनन्दित कोही पनि हुँदैनन् ।’ उहाँले देशको बजेट मारेर आफ्नो ढुकुटी भर्नेहरुको मनमा सधैं त्रास हुने पनि सुनाउनुभयो । उहाँले भन्नुभयो ,‘पहिलो त्रास, खाएको
कमिशन कहाँ लुकाउने भन्ने त्रास हुन्छ । सजिलो छैन त्यो, कहाँ लुकाउने त्यो । अनि ठेकेदार खोज्नुपर्यो, अर्को उद्यमी खोज्नुपर्यो उसले, त्यो गरिबलाई बाँड्ने होईन उसले, उसले कसलाई भने, उद्यमी व्यवसायीलाई, धनी धनाढ्यलाई नै खुवाउँछ उसले, एउटा भ्रम के हुन्छ भने मैले भ्रष्टाचार गरेर फलानोलाई दिएको छु, त्यसले एकदम राम्ररी मेरो पैसा हिफाजत गरिदिन्छ भन्ने हुन्छ, भ्रष्टाचारीहरुको पैसा कसैले हिफाजत गरिदिँदैन् ।’
चुनावमा पैसा बाँड्नेहरुले टाठा टाठालाई वितरण गर्ने गरेको र टाठाले पैसा खाईदिने र जनतामा नपुग्ने पनि उहाँले स्मरण गराउनुभयो। उहाँले भन्नुभयो,‘पैसा टाठाले खाईदिन्छन्, अनि चुनाव चाहीँ मजस्ता मान्छेले जितेर आउँछन् ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE