धरानका विद्यालयहरुमा पालिकाको तिब्र अनुगमन
६ आश्विन, धरान –धरान उपमहानगरपालिकाको निर्देशन उल्लंघन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाईएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन गर्दा उपमहानगरपालिकाको निदेर्शन विपरित भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको हो ।
धरान उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखा अधिकृत मनोज भट्टराई, नगर प्रमुखका स्वकिय सचिव राजेशमान श्रेष्ठ, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक विष्णु कोइरालासहितको टोली निजी विद्यालय तथा कलेज अनुगमन गर्न जानुभएको थियो ।
मेयर तिलक राईको अध्यक्षतामा गएको भदौं ३१ गते बसेको कार्यपालिकाको बैठकले धरानमा कोरोना महामारी अझै नियन्त्रण हुन नसकेको भन्दै दशै, तिहारपछि मात्र विद्यालय तथा कलेजहरु खुलाउने निर्णय गरेको थियो । अधिकृत मनोज भट्टराईले आज धरानका चार वटा निजी स्कुल तथा कलेजहरुमा गएर अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विष्णु मेमोरियल, समिट सेकेन्डरी स्कुल, धरान आदर्श र यूरिका स्कुलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा विष्णु मेमोरियलमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन भईरहेको पाइएको उहाँले बताउनुभयो । विहानको सिफ्टमा कक्षा ११ र १२ को भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरिएको विष्णु मेमोरियलले स्वीकार गरेका छन् । उक्त स्कुलले भोलीदेखि पठनपाठन रोक्ने प्रतिवद्धता गरेको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
यस्तै, समिट सेकेण्डरी स्कुलले पनि नर्सरी र केजीको विद्यार्थीलाई दिउँसोको सिफ्टमा भौतिक उपस्थिति मै पठनपाठन सञ्चालन गरिरहेको भेटिएको थियो । समिटमा नर्सरी र केजीका विद्यार्थी बाहेक अन्य कक्षाका विद्यार्थीलाई भने अनलाईन माध्यमबाट पठनपाठन गराईरहेको पाईएको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा धरान आदर्शमा भने कक्षा ११ र १२ को परिक्षा सञ्चालन भईरहेको भेटिएको थियो । अधिकृत भट्टराईका अनुसार यूरिका स्कुलमा भने पठनपाठन भएको देखिएको थिएन । अनुगमनका क्रममा स्कुल तथा विद्यालय अहिले सञ्चालन नगर्न निर्देशन दिईएको उहाँले जानकारी दिनुभयो । “अनुगमनलाई निरन्तरता दिनेछौं, भोली पनि अनुगमनमा जान्छौं, कडाईका साथ अनुगमन गर्छौ, नगरपालिकाको निर्देशन विपरित विद्यालय तथा कलेजहरुमा पठनपाठन भईरहेको पाइएमा कारबाही पनि गर्छौ,” अधिकृत भट्टराईले भन्नुभयो ।
उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाले धरानमा विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गरेको पाईएमा प्रचलित कानुन अनुसार कारबाही गरिने आज नै जारि गरेको विज्ञप्तिमा उल्लेख छ । उपमहानगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन नगरी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण कार्यलाई निरन्तर अगाडी बढाउन निर्देशन दिएका थिए ।
धरानका कतिपय विद्यालयहरुले भौतिक रुपमा नै विद्यालय सञ्चालन गरिरहेका, अभिभावक तथा विद्यार्थीहरुलाई सूचना गरि विद्यालयमा बोलाउने गरेको गुनासाहरु नगरपालिकामा आएका कारण तत्काल भौतिक रुपमा पठनपाठन बन्द गरि बैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाई सहजीकरणलाई निरन्तर अगाडी बढाउन विज्ञप्तिमार्फत निर्देशन दिईएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE