सुरू भयो एमाले केन्द्रीय कमिटी बैठक
१० आश्विन, काठमाडौँ – केन्द्रीय कमिटी बैठक चलिरहेको नेकपा (एमाले) का स्थायी कमिटी सदस्यहरू अनौपचारिक छलफलमा जुट्नुभएको छ । केन्द्रीय कमिटी बैठक भइरहेको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा आइतबार दिउँसो स्थायी कमिटी सदस्य अनौपचारिक बैठक बस्नुभएको हो।
दश बुँदे सहमतिअनुसार पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने कुरामा एमालेभित्र मतभेद छ। अन्तिम समयमा माधवकुमार नेपालको साथ छोडेर एमालेमै बसेका उपाध्यक्ष भीम रावलले दश बुँदे सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू हुनुपर्ने बताउनुभएको छ।
अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज माओवादी केन्द्र छोडेर आएका लेखराज भट्टलाई बनाउनुभएको छ । बागमती प्रदेशमा पनि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादी केन्द्रबाट आउनुभएका रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ।
उपाध्यक्ष रावलले केन्द्रीय कमिटी बैठकमा यो विषय उठाउनुभएको थियो । अध्यक्ष ओलीले यसबारेमा स्थायी कमिटी बैठकबाट निर्णय गर्ने बताउनुभएको थियो। सोही सन्दर्भमा आज स्थायी कमिटीमा आज छलफल भएको हो।
स्थायी कमिटी सदस्यको छलफलपछि अहिले एमाले केन्द्रीय कमिटी बैठक सुरू भएको छ । असोज १५ देखि हुने विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनबारे केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको छ। प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ। ती छलफलका क्रममा उठेका प्रश्नको आज जवाफ दिने कार्यक्रम छ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE