काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु
१३ आश्विन काठमाडौं – काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो ।
प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो।
यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ–भैरहवा–सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौँ– भैरहवा–सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ।
नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् । काठमाडौँदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ः०० बजे सोह्रखुट्टेबाट र काठमाडौँदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन्।
उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताउनुभयो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो।
राजधानीको मुख्य पर्यटकीय स्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए । हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE