Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै

१४ आश्विन, काठामाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा आज सर्वदलीय बैठक बस्ने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ।

संसदमा देखिएको गतिरोध अन्त्य गर्न यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक राख्नुभएको थियो । तर उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्यो।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवाले पहल थाल्नुभएको हो । प्रधानमन्त्रीको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरूद्ध गरिरहेको हो। कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप सभामुख सापकोटामाथि एमालेले लगाएको छ भने पार्टी विभाजन गर्न भूमिका खेलेको पनि आरोप लगाएको बताईएको छ।

आज पनि संसद बैठक बस्दैछ। दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। ओली प्रधानमन्त्री भएका बेला ल्याइएका केही अध्यादेशलाई सरकारले संसदमा पेश गर्ने तयारी पनि गरेको छ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE