कपिलवस्तुमा दुई सयभन्दा बढी बिरामी,दुईजनाको मृत्यु
१९ आश्विन, रूपन्देही – कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेका अनुसार वडा नम्बर ७, ८, ९ मा गएरातिदेखि बान्ता र झाडापखालाका बिरामीको संख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगगञ्जमा गएरातिदेखि उपचार गराउन आउनेको संख्या बढेको डाक्टर मुकेश चौधरीले बताउनु भयो ।
अहिले ५२ जना उपचाररत छन् भने ७ जनालाई थप उपचारका लागि बाहिर पठाइएको छ। बहादुरगञ्ज , सुखरामपुर , देवानगढिया , जमुनी , दयानगर, विजयनगर ,जुमिला, डबरालगायतका गाउँमा झाडा पखाला र बान्ताका बिरामी निरन्तर बढेको अस्पतालले जनाएको छ। झाडावान्ताका कारण कृष्णनगर-९ का ५ वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको स्थानीयले जानकारी दिनुभयो ।
स्थानीय क्लिनिकमा बिरामीको चाप रहेको स्वास्थ्य शाखाले जनाएको छ । अहिलेसम्म विभिन्न गाउँका दुई सयभन्दा बढी मानिसहरू बिरामी परेका छन् । दूषित पानी र सरसफाइ अभावका कारण झाडापखालाका बिरामी बढेको स्वास्थ्यकर्मीले बताउनुभएको छ । स्थानीयहरूले दूषित पानीमा माछा मार्ने र त्यत्तिकै खाँदा बिरामी बढेको हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE