Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अमेरिकामा झरेको पैसा टिप्नेको भिडले सडक जाम

५ मंसिर, एजेन्सी – अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्।

यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो। प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको थियो।

प्रहरीले केहीलाई गिरफ्तार गरेको र पैसा लिएर गएकाहरूलाई फिर्ता बुझाउन अनुरोध गरिएको छ। एउटा गाडीको ढोका बीच सडकमा खुल्दा स्थानीय समयानुसार बिहान सवा नौ बजेतिर सो घटना घटेको बताइएको छ।

“जेसुकै कारणले भए पनि बख्तरबन्द गाडीबाट पैसा झरिरहेको थियो,” राजमार्ग गस्ती अधिकृत जीम बेट्टेनकोर्टले भने। “सडकभरि नोटहरू उडिरहेका थिए।”

डेमी बाग्बाईले खिचेको भिडिओमा गाडीहरू रोकिएको र मानिसहरूले एक र बीस डलरका नोटहरू टिप्दै रमाइरहेको देखिन्छ “मैले देखेको सबैभन्दा अजबको दृश्य थियो,” उनले भिडिओमा भनेकी छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुई जनालाई पक्राउ गरिएको थियो। राजमार्ग प्रहरीले सङ्घीय जाँच ब्यूरो एफबीआईले जाँच गरिरहेको बताउँदै पैसा फिर्ता दिन आग्रह गरेको छ। बेट्टेनकोर्टले त्यहाँ पैसा टिपेका मानिसहरूमाथि कारबाही हुनसक्ने बताएका छन्। “राजमार्गमा टिभी खस्यो भने तपाईँले टिपेर घर लान सक्नुहुन्न,” उनले सान डिएगो ट्रिब्यूनलाई बताएका छन्।

शुक्रवार दिउँसोसम्म एक दर्जन व्यक्तिले टिपेको नोट फिर्ता गरेको बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE