Date
शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चीनको टिप्पणीपछि अमेरिकाले भन्यो : एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय

७ फागुन, काठमाडौँ-अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै वेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ । “हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ” अमेरिकी दूतावासले भनेको छ ।

अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ । “नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो” विज्ञप्तिमा भनिएको छ ।

५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाइएको छ । “५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो” यो दुई मुलुकबीचको साझेदारी भएको जनाउँदै अमेरिकाले यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने जनाएको छ ।

“यो परियोजनाका निम्ति नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको हो र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको छ” अमेरिकाले भनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE