Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरे : प्रचण्ड

२९ फागुन, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन्।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरेका हुन्। तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन्।

विदेशी षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने उनको भनाइ थियो। ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरुलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ’, उनले भने,‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन। नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धी हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ।’

माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए।

WRITE COMMENTS FOR THIS ARTICLE