Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढीले वृद्धि

१२ असार, काठमाडौँ – नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तीन वर्षयता अतिआवश्यकीय वस्तुको मूल्य दोब्बरभन्दा बढी बढेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको वैशाखमा तीन दशमलव ६५ प्रतिशत रहेको मूल्य वृद्धि २०७९ वैशाख महिनामा सात दशमलव ८७ प्रतिशत पुगेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत मूल्य वृद्धि ६।५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेपनि त्यो नाघिसकेको छ ।

यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ७ दशमलव १३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ८ दशमलव ४५ प्रतिशत रहेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो वैशाखको तुलनामा चालू आर्थिक वर्षको वैशाखमा घिउ तथा तेलको मूल्य वृद्धि २४ दशमलव ८६, फलफूलको १२ दशमलव ६१, दुग्ध पदार्थ तथा अण्डाको ११ दशमलव ३०, दाल तथा गेडागुडीको १० दशमलव ५३ र सुर्तीजन्य पदार्थको ९ दशमलव ७० प्रतिशत छ ।

यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा मूल्य वृद्धि २१ दशमलव ८१, शिक्षामा ११ दशमलव ६४ प्रतिशत रहेको तथ्याङ्क छ । एसियाली विकास बैङ्कको प्रकाशन एसिया डेभलपमेन्ट आउटलुक (अप्रिल २०२२) अनुसार अघिल्लो वर्ष ३ दशमलव ६ प्रतिशत रहेको मुद्रास्फीति सन् २०२२ मा ६ दशमलव ५ प्रतिशत र २०२३ मा ६ दशमलव २ प्रतिशत रहने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

WRITE COMMENTS FOR THIS ARTICLE