Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

चेपाङले मनाए ‘न्वागी’ पर्व

चितवन – चितवनका चेपाङ समुदायले बुधबार ‘न्वागी’ पर्व मनाएका छन् । हरेक वर्ष भदौ महिनामा चेपाङ समुदायले यो पर्व मनाउँदै आएका छन् ।

भदौमा नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पूजा गर्ने चलन छ । केही वर्षयता नेपाल चेपाङ सङ्घको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ ।

यस दिन चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई खुवाउने गरिन्छ । झाँक्रीले पूजा नगरी गाउँमा नयाँ फलफूल तथा अन्न खाएमा रोगव्याधी लाग्ने विश्वास यो समुदायमा छ ।

बुधबार रत्ननगर–१० स्थित गाम बेँसी चेपाङ संरक्षण केन्द्रमा पनि त्यसैगरी झाँक्रीले पूजा गरी न्वागी मनाइयो । पूजामा सरिक झाँक्री अमितलाल चेपाङले भने, “यो हाम्रो ठूलो चाड हो, हामीले पूजा नगरी नयाँ अन्न कसैले खानु हुँदैन ।” उनले नयाँ अन्नको पूजा नगरी खाँदा विभिन्न रोगव्याधी लाग्ने विश्वास रहिआएको बताए ।

न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ । धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE