रामेछापको सुन्दर पर्यटकीय गन्तब्य पाँचपोखरी (फोटोफिचर)
रामेछाप – नेपालका घुम्नैपर्ने ठाउँ रामेछापमा धेरै छन् । त्यसमध्ये रामेछापको जटापोखरी र पाँचपोखरी घुम्नैपर्ने पर्यटकीय गन्तव्यस्थल हो । रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा रहेका पोखरीहरूले धेरैलाई लोभ्याउने गरेका छन् । पाँचपोखरी तथा जट्टापोखरी प्रकृतिका उपहार हुन् ।
पाँचपोखरीको चर्चा हुने गरे पनि चुचुरेमा रहेका जट्टापोखरी, जुम्ल्याहापोखरी, कालपोखरी, जोरपोखरी, दूधपोखरी, रत्नपोखरीको भने उचित प्रचार हुन सकेको छैन । प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन गर्नका लागि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढ्न नसक्दा देशकै प्रमुख पर्यटकीय स्थलको रूपमा रहेका पाँचपोखरी ओझेलमा पर्दै आएको छ ।

यस क्षेत्रले धार्मिक ऐतिहासिकसँगै जडिबुटीको खानीको रूपमा समेत पहिचान बनाएको छ। यस क्षेत्रमा बहुमूल्य जडिबुटी पाइने विभिन्न अध्ययनले देखाएको छ ।
जट्टापोखरी, पाँचपोखरी, बौलापोखरी, भालेपोखरी, भूतपोखरी, जुम्ल्याहपोखरी, कालपोखरी, जोरीपोखरी, दूधपोखरी, रत्नपोखरीको प्रचारको पर्खाइमा रहेका छन्। पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोके पनि भौतिक पूर्वाधार लगायतका सेवा सुविधाको अभाव छ ।

होटल, सडक, सञ्चारबिजुलीलगायतका अत्यावश्यकीय सेवा उपलब्ध गराउन स्थानीय सरकारले समेत चासो देखाइरहेको छ ।
समुद्री सतहबाट ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको यस क्षेत्रमा चौरी प्रशस्त रूपमा पाइन्छन् । यस क्षेत्रमा लोडसल्ला, चिराइतो पाखनवेद, ठूलो ओखती, पाँचऔले, जटामसी, सुनापति, विषमारलगायतका जडिबुटी प्रचुर मात्रामा पाइन्छन्।
पाँचपोखरीमा जनैपूर्णिमाको दिन मेला लाग्ने गर्दछ । नेपालमा आउने पर्यटकलाई गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको पर्यटकीय क्षेत्र जट्टापोखरी र पाँचपोखरीमा भित्र्याउन सके रामेछाप जिल्लाकै आर्थिक समृद्धिका लागि टेवा पुग्न सक्छ ।

यस क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकको वृद्धि भए पनि बाह्य पर्यटकहरू आर्कषित हुन सकेका छैनन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे निस्कने मार्ग पनि यसै क्षेत्रबाट पर्ने भएकाले रामेछाप हुँदै लुक्लासम्मको पद मार्गलाई पनि ध्यानमा राखेर प्रवद्र्धन गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन् । पर्यटकीय क्षेत्रको राम्रो सम्भावना बोकेको यस क्षेत्रको विकास गर्न सकेको अवस्थामा रामेछाप जिल्लाको आर्थिक विकासमा नै टेवा पुग्नेछ।
पाँचपोखरीका विशेषता
४२ सय ५० मिटर उचाइमा अवस्थित पाँचपोखरीबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । भालेपोखरी बौलापोखरी, जट्टापोखरी र पाँचपोखरी अवलोकन गर्न सकिन्छ ।उमाकुण्ड गाउँपालिकाको देउराली हुँदै रमणीयस्थल सेरदिडंमा बास बसेर एक दिनमा पाँचपोखरी पुग्न सकिन्छ । उकाली ओराली गर्दै रमाइलो पदयात्रा गर्न पाउँदा झनै आनन्दको अनुभूति गर्न सकिने स्थानको रूपमा रहेको यस क्षेत्रमा पाँचऔले, कुटकी, पाडंवर, ठूलो ओखती, यार्सागुम्बालगायतका जडीबुटी पाइन्छन्।

पाँचपोखरीमा पुग्न जति गाह्रो हुन्छ, त्यो भन्दा कयौं गुणा त्यहाँको रमणीयस्थलको अवलोकनबाट आनन्द प्राप्ति गर्न सकिनेछ । पाँचपोखरीको चिसो पानीमा स्नान गर्दा विभिन्न किसिमको रोग निको हुने विश्वास रहेको छ । पाँचपोखरीको दर्शन गर्दा आफूले मागेको कुरा पूरा हुने जनविश्वास छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE