Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

नक्सा फेरियो, दुःख फेरिएन

काठमाडौँ – चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन।

२०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा मत माग्न आउने नेताले मालपोत कर तिर्न बैतडीमै व्यवस्था मिलाइदिने प्रतिबद्धता गरे पनि चुनाव सकिएपछि नेताले वाचा बिर्सने गरेका छन्।

बैतडीको तल्लोस्वराड क्षेत्रको हालको मेलौली नगरपालिका–८, (साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडा) का पाँच सयभन्दा बढी घरपरिवारले जग्गाको मालपोत डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको स्थानीय मौरे विष्टले बताए।

२०३२ सालमा डडेल्धुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिँदा विशालपुर गाविसका चारवटा वडाको मालपोतको स्रेस्ता डडेल्धुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेल्धुरा गएर मालपोत कर बुझाउनु परेको ठगुन्नाले बताए।

स्थानीय तहको पुनर्संरचनापछि पनि जग्गाको मालपोत र घर कर तिर्न डडेल्धुरा जानुपर्ने समस्या समाधान नभएको स्थानीय बासिन्दा मोतीसिंह ठगुन्नाले बताए।

बैतडीकै भूगोलमा बसेर पनि जग्गाधनीको लालपुर्जा डडेल्धुराको भएका कारण अधिकांश किसानले कृषि फर्म दर्ता गर्न, चार किल्ला प्रमाणित गर्न र कृषि कर्जा लिन पनि झन्झट बेहोर्नु परेको स्थानीयवासीले गुनासो गरेका छन्। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

WRITE COMMENTS FOR THIS ARTICLE