Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

समाजवादी मोर्चा निर्माणमा बाबुराम–पुष्पकमल दाहाल एकमत

काठमाडौँ–एमालेबाहेकका टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याएर कांग्रेससँग सत्ता बार्गेनिङ ‘पावर’ बढाउने योजनासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई समाजवादी मोर्चा निर्माणमा जुटेका छन्। प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन् भने बाबुराम नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन्।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटमा बृहत् समाजवादी मोर्चा निर्माणको तयारी अघि बढाउन बाबुराम–प्रचण्ड सहमत भएका हुन्।

हिजो मात्रै गोरखा उक्लिएका बाबुरामले आफूहरुलाई उपेक्षा गरिएको भन्दै प्रधानमन्त्री प्रचण्डको खोइरो खनेका थिए। तर आज बिहान प्रचण्डसँग भेटेपछि नयाँ समझदारी बनेको हो।

‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी भएको छ’, बाबुरामले भने। उनले बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गरेका छन्।

समाजवादी मोर्चाका योजनाकार भट्टराई पछिल्ला दिन संख्या हिसाब गरेर माओवादी केन्द्रका नेताहरूले आफ्नो पार्टीलाई अवमूल्यन गरेको तुष पोखेर संगठन विस्तारमा लागेका थिए। बिहीबार मात्रै उनले गोरखाबाट ६ महिने संगठन सुदृढीकरण र विस्तारको घोषणा गरेका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE