आधारभूत शिक्षामा लगानी बढाउनुपर्छ: मुख्यमन्त्री सिंह

दिनेश सहनी
जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि गर्नु अत्यावश्यक भएको बताएका छन्।
शुक्रबार महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्माण भएको छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन योजनाबद्ध रूपमा आधारभूत तहकै शिक्षामा काम गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री सिंहले हालसम्म राज्यले उपल्लो तहको शिक्षामा बढी ध्यान दिए पनि आधारभूत र माध्यमिक तहमा राम्रो परिणाम दिन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको बताए। “शिक्षाको आधार बलियो भए मात्र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ,” उनले भने।
उक्त अवसरमा छाया नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि ९९ लाख ३७ हजार रुपैयाँको लागतमा निर्माण गरेको आठ कोठे दुई तले छात्रावास भवन विद्यालयलाई हस्तान्तरण गरियो। हाल यो छात्रावासमा १९ जना दृष्टिविहीन छात्रछात्रा छन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आधारभूत शिक्षा र विशेष आवश्यकता भएका विद्यार्थीहरूको लागि थप लगानी र सुविधाको माग गरे।
छात्रछात्राको जीवनस्तर उकास्न र शिक्षामा पहुँच वृद्धि गर्न यस छात्रावासले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
मुख्यमन्त्री सिंहको भनाइले प्रदेश सरकारले आधारभूत शिक्षामा लगानी बढाउन प्राथमिकता दिने योजना बनाएको प्रष्ट भएको छ। यसले मधेस प्रदेशको शैक्षिक क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE