भन्सारले देखायो साहस, सशस्त्र प्रहरीको कमजोरी? सिरहामा तस्करी नियन्त्रणमा उठेका गम्भीर प्रश्न
✍️ दिनेश सहनी,
भन्सारले देखायो साहस, सशस्त्र प्रहरीको कमजोरी? सिरहामा तस्करी नियन्त्रणमा उठेका गम्भीर प्रश्न
जनकपुरधाम। सीमावर्ती क्षेत्रबाट हुने अवैध तस्करी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको भए पनि, अहिले त्यो काम जिल्लाको भन्सार कार्यालयले आफैं गर्न बाध्य भएको देखिएको छ। हालैको एक घटनाले सशस्त्र प्रहरी बलको प्रभावकारीता माथि गम्भीर प्रश्न उठाएको छ भने, भन्सार कार्यालयको सक्रियताले उल्लेखनीय सफलता हासिल गरेको छ।
गत असार १७ गते मंगलबार राति करीब १२ बजेको समयमा जिल्ला भन्सार कार्यालय, सिरहाका भन्सार अधिकृत तथा सूचना अधिकारी बिमल कुमार श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले करिब १६ लाख रुपैयाँ बराबरको अवैध भन्सार छलीका माल सामान सहित दुईजनालाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको छ।
पक्राउ परेका सामग्री र व्यक्ति
गोलबजार नगरपालिका–६ स्थित शिव मन्दिरबाट भारततर्फबाट ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका सामाग्रीमा ४२७ थान सारी, ३० हजार रुपैयाँ बराबरको ३०० पीस ब्लाउज कपडा, दुई थान मोटरसाइकल सहित कुल ९ लाख ९२ हजार ४ सय रुपैयाँ बराबरका सामग्री रहेका छन्।
यस घटनामा औरही गाउँपालिका–३ निवासी १६ वर्षीय रबित कुमार यादव पक्राउ परेका हुन्।
त्यस्तै, नरहा गाउँपालिका–३ स्थित पानवारी चौकबाट सिरहा नगरपालिका–१५ निवासी करिब १९ वर्षीय पप्पु कुमार यादवलाई दुई थान मोटरसाइकल र ४० प्याकेट सेतो मोतीसहित ५ लाख ८५ हजार ५ सय बराबरको मालसामानसहित पक्राउ गरिएको छ।
सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न
तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीको नेतृत्वमा दर्जनौं युनिट सीमाक्षेत्रमा खटाइए पनि तस्करी नियन्त्रणमा असफल देखिएका छन्। सिरहा जिल्ला भन्सार कार्यालयले नियन्त्रणमा लिएका मालसामान सशस्त्र प्रहरीको युनिट भएरै पास भएको देखिनु गम्भीर विषय हो। जुन कुरा पक्राउ परेका ब्यक्तिले आफ्नो बयानमा खुलाएको छ।
विश्वसनीय स्रोतहरू अनुसार एसपी भण्डारी निकटका व्यक्तिहरूले तस्करी नियन्त्रणको नाममा “घुमुवा”को रुपमा बदनाम व्यक्तिहरूलाई खटाइरहेका छन्। ती मध्ये घुमुवा सई विष्णु प्रसाद गौतमको नाम विशेष गरी चर्चामा आएको छ, जो विगतमा समेत तस्करीका मुद्दामा मुछिएका थिए।
एसपी भण्डारीको प्रतिक्रिया र भ्रम
यस विषयमा प्रतिक्रिया लिँदै गर्दा एसपी भण्डारीले घुमुवा खटाइएको कुरा अस्वीकार गर्दै भने, “मैले कुनै घुमुवा खटाएको छैन, सबैजना बर्दीमा खटिएका थिए।” तर, घटनास्थलमा रहेका व्यक्तिहरू र भन्सार अधिकृतको विवरण अनुसार सशस्त्र प्रहरीका केही कर्मचारी बिनाबर्दीमा तस्करको सुराकीको रुपमा संलग्न देखिन्छन्। प्रहरी जस्तो देखिने २ जना मोटरसाईकिलमा सवार स्कटिंग गर्दै थिए।हमीलाई देख्नासाथ उनीहरु भागे
भन्सार अधिकारी बिमल श्रेष्ठले भने, “हामीले विशेष सूचनाका आधारमा हप्तौँको मेहनत पछि सिरहा जिल्ला भन्सार माडरको सुरक्षाको जिम्मेबारी पाएका सशस्त्र प्रहरी बल प्रस्ताबित गुल्म माड़रबाट आफुहरुको सुरक्षार्थ सशस्त्र प्रहरीका केही कर्मचारीलाई साथ लिएर अवैध सामान नियन्त्रणमा लिएका हौं।” उनले यस घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धानबाट मालसामान बरियारपट्टी र बड़हरी नाकाबाट ल्याइएको पुष्टि गरेका छन्।
यथार्थ लुकाउन मिडियासँग झूठ?
एसपी भण्डारीले मिडियासँगको कुराकानीमा घटनालाई झूठो रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ। उनले संयुक्त अपरेसन भएको दाबी गरे पनि भन्सार कार्यालयले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सम्पूर्ण कार्य भन्सार टोलीकै योजनामा, आफ्नै कमाण्डमा गरिएको हो।
यस घटनाले सशस्त्र प्रहरी बलको तस्करी नियन्त्रण गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ। झूठो दाबी गर्दै वास्तविकता लुकाउन खोज्नु झनै शंकास्पद भएको छ।
सशस्त्र प्रहरी प्रमुख एसपी भण्डारीमाथि शंका: घुमुवा घेरामा तस्करी?
सिरहामा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, हेडक्वार्टरका प्रमुख एसपी नरेश भण्डारी माथि प्रत्यक्ष/अप्रत्यक्ष तस्करीको संलग्नता रहेको प्रमाणहरू फेला पर्न थालेका छन्। जिल्लामा रहेका दर्जनौं सशस्त्र प्रहरी युनिट र त्यहाँ कार्यरत कर्मचारीहरू छन्। त्यस माथि पनि सशस्त्र प्रहरीका सई विष्णु प्रसाद गौतमको नेतृत्वमा काम गरिरहेका केही बदनाम घुमुवाहरूको संलग्नताबारे प्रश्न उठेको छ।
सई गौतमलाई विगतमा तस्करीको रकम असुली गरेको आरोपमा कारबाही गरिएको थियो। तर उनी अहिले एसपी भण्डारीका प्रिय पात्रको रूपमा जिल्लाको प्रमुख घुमुवा जिम्मेवारीमा पुनः परिचालित गरिएको देखिन्छ।
सिरहामा कार्यरत सई विष्णु प्रसाद गौतमको विगतको कार्यशैली विवादास्पद रहँदै आएको छ। उनलाई विगतमा तस्करीबाट अवैध असुली गरेको आरोपमा कारबाही गरिएको थियो। अहिले उनी पुनः *एसपी नरेश भण्डारीका ‘प्रिय पात्र’*का रूपमा देखिँदै आएका छन्।
तथ्य र बयानले के देखाउँछ?
• भन्सार कार्यालयले आफ्ना सबै कर्मचारीको नामावली सहित सम्पूर्ण विवरण जिल्ला कार्यालयमा बुझाइसकेको छ।
• समान सहित पक्राउ परेका व्यक्तिहरुले बरीयरपट्टी र बडहरी नाका हुँदै सामान भित्रिएको बयान दिएका छन्।
• सशस्त्र प्रहरीको दर्जनौं युनिटको उपस्थिति हुँदाहुँदै पनि माल समातिनु नपाउनु उनीहरूको लापरवाही वा मिलेमतो दुबै संकेत दिन्छ।
तस्करी र प्रहरी गठजोडको सम्भावना
घटनाको संरचनात्मक विश्लेषण गर्दा देखिन्छ:
• सीमावर्ती युनिटमा सशस्त्र प्रहरी तैनाथ छन्, तर उनीहरू मौन छन्।
• सामान भारतबाट खुलेआम मोटरसाइकलमा ल्याइएको थियो।
• भन्सारले दुई स्थानबाट एकै रातमा छुट्टाछुट्टै पक्राउ गर्यो, तर सशस्त्र प्रहरी बल शून्य।
• एसपी भण्डारीको प्रतिवेदन र भन्सारको प्रतिवेदन एकअर्काको पूर्णविपरीत।
यसले देखाउँछ कि सशस्त्र प्रहरी र तस्कर सञ्जालबीच आन्तरिक सहमति वा संरक्षणको गम्भीर आशंका गर्न सकिन्छ।
सिरहामा भन्सार कार्यालयले देखाएको सक्रियता प्रशंसनीय छ भने सशस्त्र प्रहरी बलको भूमिकामाथि गम्भीर छानबिन आवश्यक छ। सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको नाममा हुने
भ्रष्टाचार, राजनीतिक संरक्षण र प्रहरीको संलग्नता अब ढाकछोप गर्न नसकिने अवस्थामा पुगेको छ। तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीमाथि कारबाही नगरेसम्म सीमावर्ती सुरक्षा प्रभावकारी नहुने निश्चितप्रायः छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE