धनुषा प्रहरीको हिरासत काण्ड: १५ वर्षीय बालकलाई बन्दुक देखाउँदै कुटपिट, प्रहरीमाथि छानबिन सुरु
✍️दिनेश सहनी/जनकपुरधाम
२६ साउन — जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र एक १५ वर्षीय बालकमाथि गरिएको निर्मम कुटपिट तथा हतियार देखाएर डर देखाएको आरोप सार्वजनिक भएपछि प्रहरीमाथि छानबिन सुरु गरिएको छ।
मंगलबार राति चोरी अभियोगमा पक्राउ परेका धनौजी गाउँपालिका–२ निवासी रोहित पण्डितलाई हिरासतमा लिएर अपराध स्वीकार गर्न पाइप र बन्दुक देखाउँदै पटक–पटक कुटपिट गरिएको परिवारजनले आरोप लगाएका हुन्।
पीडित बालकले जिल्ला प्रहरी कार्यालयमा बोलाइएका बेला अपराध अनुसन्धान शाखाका निरीक्षक सञ्जीव यादव मातहतका एक प्रहरीलाई चिनाएका थिए। बालकको भनाइअनुसार, आफूले चोरी नगरेको बताउँदा कनचटमा बन्दुक भिडाएर धम्क्याइ चोरी स्वीकार गर्न दबाब दिइएको थियो।

चोरी आरोपमा रोहित पण्डितसहित १४ वर्षीय सुमित पण्डित र १६ वर्षीय रोहित साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, तीमध्ये रोहितलाई अत्यधिक यातना दिएको आरोप लागिएको छ।
प्रहरी चौकी धनौजीका ईन्चार्ज असई हर्क बहादुर श्रेष्ठले जनप्रतिनिधिको दबाबमा बालकहरूलाई झूटो आरोप लगाएर नियन्त्रणमा लिएको भन्दै परिवारजनले आपत्ति जनाएका छन्।
घटनापछि डिएसपी सिंहको नेतृत्वमा प्रारम्भिक छानबिन सुरु गरिएको छ। दोषी प्रमाणित भएमा विभागीय कारबाही हुने प्रहरी स्रोतले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE