भन्सारको तेस्रो ठूला सफलता: सशस्त्र प्रहरीको आँखामुनि बारम्बार तस्करी, अब जनताको प्रश्न– जिम्मेवार को?
✍️ दिनेश सहनी , जनकपुरधाम
२७ ,असार – सिरहा भन्सार कार्यालय माडरले बिहीबार राति पुनः एकपटक उल्लेखनीय सफलता हात पारेको छ। बरियारपट्टी नाकाबाट अवैध रुपमा ल्याइएका झण्डै दुई लाख रुपैयाँ बराबरका भन्सार छलीका सामग्रीहरू नियन्त्रणमा लिँदा भन्सार कार्यालय सक्रिय देखिएको छ, तर सशस्त्र प्रहरी बलको भूमिकाप्रति गम्भीर प्रश्नहरू उठेका छन्।

सिरहा भन्सार कार्यालय माडरका भन्सार अधिकृत बिमल कुमार श्रेष्ठ नेतृत्वको टोलीले उक्त समान बरियारपट्टी नाका स्थित पेट्रोल पम्प नजिक बाट तस्करीका अबैध भन्सार छलीका सामग्रीको सूचना पाउनासाथ आफुहरु आफ्नो सुरक्षार्थ सुरक्षाकर्मीलाई लिएर तत्काल घटना स्थलमा पुगे पश्चात तस्करी समान नियन्त्रणमा लिएको हो । उनका अनुसार भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न कपडा लगायतका माल समान बरामद गरिएको छ। यसमा विभिन्न प्रकारका कपडा र बालबालिकासम्बन्धी वस्तुहरू रहेका छन्। ती सामग्रीमध्ये ६० पीस बेबी ब्लूमर, ३ पैकेट मोजा, ९० सेट टप गञ्जी, १२ थान बच्चाको साईकिल , १९८ पीस लेडीज ब्रा, ११० पीस लेडीज पेन्टी, १ कार्टून लहठी, ४ कार्टून बच्चाको झुल रहेका छन्। भारतबाट चोरी पैठारी गरेर नेपाल ल्याउने प्रयास गरिएको यी सबै सामग्रीको कुल मूल्य १ लाख ८४ हजार ६०० सय रुपैयाँ रहेको जनाइएको छ।

तस्करी नियन्त्रण भन्सारको हातमा, सशस्त्र प्रहरी किन मुकदर्शक?
बरियारपट्टी नाका नेपाल–भारत सीमावर्ती क्षेत्र हो जहाँ सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (BOP) समेत रहेको छ। तर पछिल्लो समयमा तस्करी नियन्त्रणमा भन्सार कार्यालयको मात्रै सक्रियता देखिनुले सशस्त्र प्रहरी बलको प्रभावशाली उपस्थिति असफल भएको संकेत दिएको छ।
स्थानीय स्रोतका अनुसार, सशस्त्र प्रहरी बलको निगरानीकै बीचबाट तस्करहरू नाकाबाट छिरेर सामान ल्याउने, डिपोमा उतार्ने र वितरकसम्म पुर्याउने गतिविधि भइरहेको छ। त्यस्तै गम्भीर घटनामा पनि उनीहरूको मौनता र निष्क्रियता ‘समन्वय’ नामक अनौपचारिक मिलेमतोको शंका जन्माएको छ। 
भन्सार कार्यालयले तेस्रो पटक देखायो साहस
भन्सार अधिकृत बिमल कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले तस्करीको सूचना पाएलगत्तै सुरक्षाकर्मीको साथमा पेट्रोल पम्प नजिक पुगेर सामान नियन्त्रणमा लिएको हो। उनका अनुसार, उक्त सामग्री भारतबाट चोरी पैठारी गरिएको र नेपाल भित्र्याउने क्रममा पक्राउ गरिएको हो।
यसअघि पनि माडर भन्सारले दुई पटक यस्तै कार्यवाही गरेर झण्डै २० लाख मूल्य बराबरको तस्करी नियन्त्रणमा लिएको थियो। 
तस्करहरू अझै उन्मुक्त, अनुसन्धान तीव्र
भन्सारले नियन्त्रणमा लिएका सामग्री तस्करहरूको पहिचान खुल्न सकेको छैन। तथापि भन्सार कार्यालयले विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। अनुसन्धानमा साझेदार समूहहरू र स्रोतहरूको संकलनमार्फत तस्करीको शृंखला पहिचान गर्ने तयारी भईरहेको छ।

बढ्दो आलोचना: ‘सशस्त्र प्रहरी सँग सह–सन्धि?’
सामाजिक सञ्जालदेखि स्थानीय चिया पसलसम्ममा एउटा सवाल उठिरहेको छ –
“तस्करले किन सजिलैसँग सशस्त्र प्रहरीको नाकामुनि सामान ओसार्न सक्छन्?”
“के भन्सार मात्रै इमानदार बनेर पुग्छ?”
सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीयहरू आक्रोशित छन्। सशस्त्र प्रहरीको भूमिकालाई लिएर स्थानीय सरोकारवालाहरूले छानबिन समिति गठन गर्न समेत माग उठाएका छन्।
भन्सार प्रमुख र टोलीको प्रशंसनीय सक्रियता
यस अभियानमा भन्सार प्रमुखको निर्णय क्षमता, सूचनाको तत्परता र टोलीगत कार्यले तस्करीको ठूलो लहरलाई रोक्न सफल भएको छ।
सूचनाको गोप्यता, छिटो कारबाही र जोखिमपूर्ण समयमा सुरक्षा समन्वय गर्नुले भन्सार कार्यालयको दक्षता झल्काएको छ।
सिरहा माडर भन्सारको सक्रियता सराहनीय छ, तर यस्तो सफलताले सीमा सुरक्षा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वार्टर सिरहा गणपति एसपी नरेश भण्डारी नेतृत्वका सशस्त्र प्रहरी बलको निष्क्रियता झन् स्पष्ट बनाइदिएको छ। उनका बदनाम घुमुवाहरुको मिलोमतोको आशंका पुष्टि गरी दिएको छ। तस्करी नियन्त्रण एउटा संस्थाले मात्र सम्भव छैन; यसमा सुरक्षा संयन्त्र र निगरानी प्रणालीको पूर्ण समन्वय आवश्यक हुन्छ।
अब प्रश्न उठ्न थालेको छ – के सशस्त्र प्रहरी बल आफ्नो जिम्मेवारीबाट भाग्दैछ?
यदि यसप्रति गम्भीर समीक्षा र जवाफदेहीता सुनिश्चित गरिएन भने, अवैध तस्करी नियन्त्रणको सपना केवल ‘भन्सारको इमानदार प्रयास’ मा सिमित रहन सक्नेछ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE