Date
मङ्ल, फाल्गुन ५, २०८२
Tue, February 17, 2026

‘जेन-जी’ आन्दोलनः परिवर्तनको मोडमा देश !

आजको पुस्ताले जुन साहसिक आन्दोलनको नेतृत्व ग‍र्यो, त्यसले इतिहासमा एउटा महत्वपूर्ण अध्याय थपेको छ । अब प्रश्न छ, के तपाईंहरू यो अभुतपूर्व इतिहासलाई सम्मानजनक बनाउने निर्णय लिन सक्नुहुन्छ ?

सामाजिक सञ्जालमार्फत सुरु भएको एन्टी करप्सन अभियानका रूपमा विकसित ‘जेन (जी) आन्दोलन’ले देशलाई एक गम्भीर र निर्णायक मोडमा पु‍र्याएको छ । विगतका पुस्ताबाट निरन्तर हुँदै आएको भ्रष्टाचार, अपारदर्शिता र सत्ताको दुरुपयोगप्रति आजको पुस्ताले सार्वजनिक रूपमा प्रश्न उठाउनु र प्रतिकार गर्नु स्वाभाविक थियो । ‘बा, काका पुस्ताको असफलता, मौन समर्थन र अनियमितताप्रति आँखा चिम्लिने प्रवृत्तिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको भन्ने निष्कर्ष अहिलेको युवापुस्ताले स्पष्ट रूपमा सार्वजनिक गरेको छ ।

आन्दोलनको प्रारम्भमा भ्रष्टाचारमा संलग्न अभिभावक तथा उनीहरूका जीवनशैलीप्रति प्रश्न उठाउने नयाँ पुस्ताको आवाजलाई सामान्य रूपमा लिइएको थियो । तर, समयक्रममा यसले उग्र रूप लिँदै देशव्यापी आन्दोलनको स्वरूप ग्रहण गर्नेछ भन्ने अपेक्षा शायद कसैलाई थिएन । भ्रष्टाचारको विरोधमा उठेका यी स्वरहरू क्रमशः सशक्त प्रतिरोधमा परिणत भए, जसका क्रममा कैयौं युवायुवतीहरूले आफ्नो ज्यानको आहुति समेत दिनुप‍र्यो । त्यस्तै, भौतिक संरचनाहरूको विनाश, जनधनको क्षति र सामाजिक अशान्तिका गम्भीर परिणामहरू आज मुलुकले भोगिरहेको छ ।

तर, अहिलेको सबैभन्दा गम्भीर पक्ष भनेको यो आन्दोलनबाट प्राप्त अन्तरिम राजनीतिक अवस्थालाई स्थायी परिवर्तनतर्फ कसरी रूपान्तरण गर्ने भन्ने चुनौती हो । आजको मिति देश एक यस्तो मोडमा आइपुगेको छ, जहाँ एकतर्फ आमूल सुधार, समावेशी नेतृत्व र जवाफदेह शासन व्यवस्थाको आधारशिला राख्ने अवसर छ, भने अर्कोतर्फ, गलत निर्णय र अपरिपक्व नेतृत्वका कारण देश झन् गहिरो संकटमा फस्नसक्ने सम्भावना पनि उत्तिकै प्रबल छ ।

सिंगो देश अहिले (जेनजी) तपाईहरूको सुझबुझपूर्ण निर्णयको प्रतीक्षामा छ । आन्दोलनको मूल मर्मलाई भुलेर यदि पुनः व्यक्तिगत स्वार्थ, पदको लोभ, अथवा प्रतिशोधको राजनीति हावी भयो भने, यस आन्दोलनमा गरिएको बलिदान व्यर्थ हुनेछ । अँझ गम्भीर कुरा, यस्ता गलत निर्णयहरूका लागि तपाईहरू केवल विगतका पुस्ताबाटै होइन, भविष्यका पुस्ताबाट समेत आलोचना र धिक्कारको पात्र बन्नुहुनेछ ।

आजको पुस्ताले जुन साहसिक आन्दोलनको नेतृत्व ग‍र्यो, त्यसले इतिहासमा एउटा महत्वपूर्ण अध्याय थपेको छ । अब प्रश्न छ, के तपाईंहरू यो अभुतपूर्व इतिहासलाई सम्मानजनक बनाउने निर्णय लिन सक्नुहुन्छ ?

देश अहिले संक्रमणकालीन अवस्थाबाट स्थायित्व, सुशासन र समावेशी राजनीतिक व्यवस्थातर्फको यात्राको सुरुआत गर्ने मोडमा उभिएको छ । अँझ भनौ यो निर्णायक घडि हो । यो अवसरलाई गुमाउनु अब मुलुकका लागि दीर्घकालीन विनाशको संकेत हुनेछ । परिवर्तन सम्भव छ, तर त्यो केवल दूरदृष्टि, संयम र समर्पित नेतृत्वबाट मात्र सम्भव हुन्छ । असफलताको प्रतिक होइन, एक महत्वपूर्ण सफल इतिहास रच्न शुभकामना ।

कृष्णा चौलागाई
पत्रकार

WRITE COMMENTS FOR THIS ARTICLE