तिहारको कोसेली ग्याँस र चुल्होः स्थानीयवासी खुशी
२७ कात्तिक
महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ८ ले तिहारको अवसर पारेर कोसेली स्वरुप पाँच सयभन्दा बढी महिलालाई खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुल्हो वितरण गरेको छ ।
दाउरा खोज्ने हैरानीबाट मुक्त हुने भएपछि उनीहरु खुशी समेत भएका छन् । गरिबी र विपन्नताका कारण वर्षौदेखि दाउरा खोजेर माटाको चुलोमा आगो बाल्ने र भाँडा बसाल्ने काम गर्दै आएका जलेश्वर नगरपालिका– ८ का महिलाले वडा कार्यालयबाट निःशुल्क रुपमा ग्याँस र चुल्हो कोसेली स्वरुप पाएपछि उनीहरुको दैनिकी फेरिएको छ ।
दाउरा र गुईठा बाल्दा उत्पन्न हुने धुवाँले उनीहरुका भकभती पोलेका आँखा र आगोको रन्कोले अध्यारो भएका अनुहार मात्र बदलिएका छैन उज्याला मन र साग्ला आँखाले सहज जीवन बाँच्ने आशा समेत पलाएको स्थानीयवासी सोभिात देवीले बताउनुभयो ।
धुवाँमुक्त वडा र स्वस्थ समाज निर्माणका लागि गरिब, विपन्न र निम्न आय भएका महिलालाई निःशुल्क रुपमा खाना पकाउने ग्याँस र चुल्हो वितरण गरिएको वडाध्यक्ष बिजय कुमार सिंहले बताउनुभयो । ग्यास सिलिन्डर तथा चुलो निःशुल्क पाएपछि आफूहरुको दैनिकी फेरिएको स्थानीयवासी उर्मिला देवीको भनाइ छ ।
वडा कार्यालयले यहाँका ५२१ घरपरिवारका महिलालाई निःशुल्क रुपमा ग्यास सिलिण्डर र चुलो वितरण गरेको हो । दाउराबाट निस्केको धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोगलगायत रोग लाग्ने सम्भावना बढी हुने भएकाले विशेषगरी भान्सामा काम गर्ने गृहिणीको स्वास्थ्यलाई ध्यानमा राखेर खाना पकाउने एलपी ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको वडाध्यक्ष सिंहको भनाइ छ ।
यो कार्यक्रमले स्वस्थ्य समाज निर्माणका लागि स्वस्थ्य गृहिणी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो
सर्वसाधारणको स्वास्थ्यसित मात्र नभई समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न समस्याबाट बचाउने हुनाले यो अभियान सञ्चालन गरेको वडाध्यक्ष सिंहको भनाइ छ ।
विपन्नताको कारण अहिलेसम्म वन जङ्गलबाट दाउरा, अर्काको खेतबारीको पात र खोला किनारको झारबाट दाउरा बाल्दै आएकी राजवती देवी छिमेकीहरूजस्तो आजैदेखि ग्याँस चुल्होमा खाना पकाउन पाएपछि खुशी देखिएकी छन् । उहाँ मात्र होइन, उहाँजस्तै वडाका पाँच सयभन्दा बढी महिलाले ग्याँस चुल्होमा खाना पकाउन थालेपछि स्वास्थ्य, समय र श्रम सबैको बचत भएकोमा निक्कै खुशी देखिएकी छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE