Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

काे थिए वि.पी काेइराला, जस्काे आज ३७ औं स्मृति दिवस मनाइँदैछ ।

काठमाडाैँ-विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु भएको थिायो । सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री रहनु भयो । नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्ने नायकका रुपमा पनि उहाँलाई स्मरण गर्ने गरिन्छ । नेपाली भाषा साहित्यमामा उहाँले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्नु भएको थियो ।

उहाँको राजनीतिकाे सुरूवाती जीवन
विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई इ.सं. १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्‍यो । यसपछि नै उहाँको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उहाँले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गर्नुभयो । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गर्नुभयो । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गर्नुभएको थिायो । विद्यार्थी हुँदापनि उहाँ जनीतिमा नजीक रहनुभएको थिए । इ.सं. १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उहाँलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो । त्यहाँबाट छुटेपछि उहाँले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्नुभयो जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

नेपालमा राजनीतिक नेतृत्व
सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उहाँलाई तत्कालीन सरकारले एक वर्ष कैद गर्‍यो । इ.सं. १९५१ मा उहाँले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गर्नु भएको थिायो । अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बन्नुभयो ।

प्रधानमन्त्री काल
सन. १९५९ मा भएको पहिलो आम निर्वाचनमा उहाँको दल नेपाली कांग्रेस विजयी भएपछि उहाँले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नुभयो । उहाँको सरकार १८ महिना मात्र सरकारमा रह्यो ।

सरकार विघटन तथा कैद
बि.सं. २०१७ साल पुस १ गते अर्थात १५ डिसेम्बर १९६० मा राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्षसम्म कैदमा राखियो । सन १९६८ मा उनलाई बनारस निर्वासनमा जान दिइयो । सन १९७६ मा उहाँ नेपाल फर्के तर तत्कालीन नेपालको सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गर्‍यो । अन्तर्राष्ट्रिय दबावका कारण १९७८ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । १९७९ को अथार्त २०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो । उनको मृत्यु २१ जुन १९८२ मा काठमाडौंमा भएको थियो ।

साहित्यिक योगदान
प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बन्नु भएको छ ।

उहाका कृतिहरु
उपन्यास
तीन घुम्ती : यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।

सुम्निमा : यो दुई भिन्न संस्कृतिको समन्वय,सम्मिस्रण गाथा हो । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो। सुम्निमा किराँत धर्मावलम्बीहरू द्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँत हरूको आरोप छ।

नरेन्द्रदाइ :  नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका ( दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।

मोदिआइन : यो सानो आकारको तर महत्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रुपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

हिटलर र यहुदी : जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ। कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ । हिटलरले गरेको नरसंहार र युद्ध भयंकरता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ ।

बाबु, आमा र छोरा : यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरुको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा – आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु । यस उपन्यासमा यी तीनवटै पात्रहरुको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ ।

कथा : दोषी चश्मा, श्वेतभैरवी, जीवनी, आफ्नो कथा, जेल जर्नल आदि

WRITE COMMENTS FOR THIS ARTICLE