Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अक्सफोर्डको कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु, खोप यसै वर्षभित्र आउने दाबी

२९ भाद्र
काठमाडौँ-बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेका कोरोना भाइरसविरुद्धको खोप परीक्षण पुनः सुरु भएको छ । खोप सुरक्षाबारे समीक्षा गर्ने एउटा स्वतन्त्र समिति र ‘यूके मेडिसिन एन्ड हेल्थ केयर प्रडक्ट्स रेगुलेटोरी एजेन्सी’ (एमएचआरए) को सिफारिसमा बेलायतमा परीक्षण पुनः सुरु गरिएको अक्सफोर्डले जनाएको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाले विकास गरिरहेको खोप परीक्षणका लागि लगाउँदै दक्षिण अफ्रिकास्थित एक स्वयंसेवक । खोप परीक्षणमा सहभागी एक जना महिला स्वयंसेवकमा सन्देहपूर्ण प्रतिकूल प्रतिक्रिया देखिएपछि गत मंगलबार खोपको अन्तिम क्लिनिकल परीक्षण स्थगित गरिएको थियो । यो स्थगन लम्बिन सक्ने चिन्ताबीच पुनः सुरु गरिएको हो ।

 

परीक्षणका क्रममा उक्त खोप विश्वभर करिब १८ हजार जनालाई दिइसकिएको छ । खोप परीक्षणमा सहभागी हजारौंमध्ये कोही बिरामी हुनु सामान्य भए पनि प्रत्येक सहभागीको सुरक्षालाई ध्यानपूर्वक मूल्यांकन गरिने अक्सफोर्डको विज्ञप्तिमा उल्लेख छ । गत साता अस्ट्राजेनेकाले ‘एउटा व्याख्या गर्न नसकिने बिमार’ का कारण अन्तिम क्लिनिकल परीक्षणमा ’नियमित’ बिराम गरिएको जनाएको थियो ।

अक्सफोर्डले ती स्वयंसेवकमा के समस्या देखिएको थियो औपचारिक रूपमा सार्वजनिक गरेको छैन । तर न्युयोर्क टाइम्सले ती स्वयंसेवकमा मेरुदण्डको नसा सुनिने ‘ट्रान्सभर्स मिलिटिस’ देखिएको जनाएको थियो । भाइरल संक्रमणका कारण हुने उक्त बिमारीले मानिसको मेरुदण्डमा असर पु¥याउन सक्ने विश्वास गरिन्छ ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले परीक्षण पुनः सुरु हुनु स्वागतयोग्य र सबैका लागि खुसीको कुरा भएको ट्वीट गरेका छन् । मन्त्री ह्यानककले खोप परीक्षण स्थगितले बेलायत सुरक्षालाई जहिल्यै पहिलो प्राथमिकतामा राख्छ भन्ने देखाएको टिप्पणी गर्दै प्रभावकारी र सुरक्षित खोज जतिसक्दो छिटो उपलब्ध गराउन आफ्ना वैज्ञानिकहरूलाई सहयोग गर्ने पनि बताएका छन् ।

उक्त खोपको अन्तिम अर्थात् तेस्रो परीक्षणको नतिजा कस्तो आउँछ भनेर संसारभरि नै निकै उत्सुकताका साथ हेरिएको छ । उक्त खोपको तेस्रो परीक्षणमा अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरी झन्डै ३० हजार व्यक्ति सहभागी भइरहेका छन् । एजेन्सीकाे सहयाेगमा

WRITE COMMENTS FOR THIS ARTICLE