Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

भिरबाट खसेको ढुंगाले लागेर आमा-छोरीको मृत्यु

६ आश्विन,काठमाडौं –रोल्पामा पैदल हिँडिरहेका आमा-छोरीलाई भिरबाट खसेको ढुंगाले लाग्दा भिरमुनि लडेर मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नं.९ की २५ वर्षीया संगीता पुन र उनकी २ वर्षीया छोरी र्कीतिका पुनको स्थानीय हिङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर भिरमुनी खस्दा  मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले  बताउनुभयो।

आमा-छोरीको शव मंगलबार बेलुका साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। स्थानीयले भिरमुनि आमा(छोरीको शव देखेपछि  प्रहरी चौकी माडीचौरलाई खबर गरेका थिए। त्यसपछि  जिल्ला प्रहरी कार्यालय र माडाीचौरको प्रहरी टोली घटनास्थल पुगेर भिरमुनिबाट शव निकालेर मध्यराति १२ बजेतिर अस्पताल पुर्‍याएको डिएसपी सुवेदीले बताउनुभयो।

बाँदरले बारीमा मकै खाएर सारै दुःख दिने गरेको हुँदा संगीता सानी छोरीलाई बोकेर जेठी छोरीसहित बारीमा पुग्नुभएको थियो। सोही क्रममा एक छोरीलाई बारीमै राखेर सानी छोरी र संगीता फर्कने क्रममा भिरबाट ढुंगा खसेर उहाँहरूलाई लागेको थियो। भिरबाट झरेको ढुंगाले लाग्दा सन्तुलन बिग्रन गई भिरमुनि खस्दा आमा(सानी छोरीको एकै साथ मृत्यु भएको जस्तो देखिएको डिएसपी सुवेदीले बताउनुभयो।

‘आमा संगीताले जेठी छोरीलाई बाँदर आए ढुंगाले हान्नु भन्ने कुरा सिकाएर बारीमा एक्लै मकै हेर्नको लागि राखेर आफू सानी छोरीलाई बोकेर घर फर्किने क्रममा हिङबाङको भिरबाट खसेको ढुंगोले लागेर भिरमुनि खसेको जस्तो देखिन आएको छ,’ डिएसपी सुवेदीले भन्नुभयो । त्यस्तै, रोल्पा नगरपालिका ३ खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ।

गाउँकै विवाह भोजको पार्टी खाएर घर फर्कने क्रममा  बाटोमै खरबारेमा लडेको अवस्थामा फेला पार्नुभएको थियो। थापा घर नफर्किएपछि राति घर परिवारले उनको खोजी गरे पनि फेला पर्न नसकेको र बिहान ४ बजेतिर फेला परेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि उपचारका क्रममा बिहान मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो।

‘अत्यधिक मदिरा सेवनका  कारण थापा घर जाने क्रममा खरबारीमै लडेको अनुमान गरिएको छ,’ डिएसपी सुवेदीले भन्नुभयो। तीनै जनाको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टमको लागि लगिएको उहाँले बताउनुभयो।

 

WRITE COMMENTS FOR THIS ARTICLE