प्रसूतिपश्चात पेटमै छुटाईयो टालो : छानविन हुँदै
१० आश्विन, काठमाडौँ – शल्यक्रियाका माध्यमले प्रसूति गराउँदा पेटमा टेट्रा ९गजको पत्रले बनेको टालो० छुटेकी महिलाका विषयमा परेको उजुरीविरुद्ध नेपाल मेडिकल काउन्सिलले कारबाही अघि बढाएको छ ।
गत वर्ष जेठ ७ गते सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा २९ वर्षीया डोमा घतानीको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो। उनको स्वास्थ्यमा जटिलता देखा पर्यो। उपचारका क्रममा चिकित्सकले पेटमा टालो छुटाएको पत्ता लागेको थियो ।
अस्पतालका चिकित्सक डा दिलीपकुमार शाहसहितको टोलीले उहाँको शल्यक्रिया गरेको थियो । प्रसूति गराएको लामो समय बित्दा पनि डोमाको स्वास्थ्यमा सुधार नआएपछि उहाँका पति सुनिल घतानीले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिनुभएको थियो ।
छानबिनका क्रममा टेट्रा पेटमै छुटाएर घाउ सिलाइएको ठहर गरी कारबाही अघि बढाएको काउन्सिलका रजिस्ट्रार डा कृष्णाप्रसाद अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रमाणहरू संकलन भइसकेपछि स्पष्टीकरण सोध्न कारबाही अघि बढेको छ,’ उहाँले भन्नुभयो ।
स्पष्टीकरण सोध्ने कारबाही सकिएपछि नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले कारबाहीबारे निर्णय लिने काउन्सिलका अध्यक्ष प्राध्यापक डा। भगवान् कोइरालाले बताउनुभयो । ‘कुनै व्यक्तिलाई कारबाही गर्नुअघि सफाइको मौका दिने कानुनी व्यवस्था छ, त्यो प्रक्रिया पूरा गर्दैछौं,’ उहाँले भन्नुभयो।
घटनामा धेरै व्यक्तिको सहभागिता रहेकाले सोहीअनुसार कारबाही हुने डा कोइरालाको भनाइ छ । शल्यक्रियाका क्रममा भएको यस्तो लापरबाहीमा संलग्नलाई ऐनअनुसार केही अवधिका लागि निलम्बन गर्ने र सचेत गराउनेजस्ता कारबाही गर्ने व्यवस्था छ ।
डोमाले पहिलो बच्चा शल्यक्रियाबाटै जन्माएकी थिइन्। त्यसकारण चिकित्सकले दोस्रो पनि बच्चा पनि शल्यक्रियाबाटै प्रसूति गराउने सल्लाह दिनुभएको थियो। डोमाका पति सुनिल वैदेशिक रोजगारीमा हुनुहुथ्यो ।
लकडाउनको अवधिमा भएकाले जिल्ला अस्पतालमै शल्यक्रिया गराउनु डोमाको बाध्यता थियो । ‘नयाँ डाक्टर आएको सुनेर डर लागिरहेको थियो । अन्त जान साइकलसम्म चल्दैनथ्यो। जिल्ला अस्पतालमै गराएँ,’ डोमाले भनिन् । पीडित डोमाका अनुसार अस्पतालमा शल्यक्रिया गरेपछि दिनदिनै गाह्रो हुँदै गयो ।
अस्पतालले सात दिनपछि डिस्चार्ज दियो । घरमा पुगेर बच्चाको न्वारान गर्ने दिनसम्म उनलाई झनै कठिन भइरहेको थियो । पेट असामान्य ठूलो हुँदै गएपछि ओखलढुंगाको मिसन अस्पतालमा पुगिन् । त्यहाँका चिकित्सकले सुईबाट पेटमा जमेको पिप निकाले । थप उपचारका लागि उनी चार महिनापछि काठमाडौं आइन्।
काठमाडौंको बौद्धस्थित स्तुपा अस्पतालमा सिटी स्क्यानबाट पेटमा टालो छुटेको पत्ता लाथ्यो । अहिले डोमा काठमाडौंमै डेरा गरेर बस्छिन् । उनको स्वास्थ्य अवस्था अझै राम्रो भइसकेको छैन । नागरिक दैनिकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE