नेकपाको घरझगडामा कांग्रेसको कर्खे नजर, बालुवाटारमा ओली देउवा ’गोप्य’ वार्ता, खास कुरा के भयो ?
संवैधानिक नियुक्ति र एमसिसीबारे पनि छलफल
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा प्रमुख प्रतिपक्षी दलका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको भेटवार्ताको विषयमा अहिले विभिन्न कुरा बाहिर आएका छन् । सत्तारुढ दल नेकपाभित्र ओलीले देउवासँग नयाँ सरकार गठनको विषयमा छलफल गरेको हल्ला छ भने यता कांग्रेसभित्र यसबारे कसैलाई केही पत्तो छैन । संसद अधिवेशन अन्त्य भएको अघिल्लो दिन प्रधानमन्त्री ओलीले देउवालाई सरकारी निवासमा बोलाएर भेटवार्ता गरेका थिए । नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला ओली र देउवाको भेटले अनेक शंका आशंका उत्पन्न भएको हो ।
नेकपामा ओलीले पार्टी फुटाएर कांग्रेससँग अर्काे सरकार गठन गर्ने तयारी गरेको हल्ला चलेको बेला दुई नेताबीचको यो भेट अर्थपूर्ण मानिएको छ । कांग्रेसले भने ओली र देउवाको भेट संवैधानिक नियुक्तिको विषयमा भएको जनाएको छ । संसद अधिवेशन अन्त्यको विषयमा त कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरेर प्रधानमन्त्रीले कांग्रेससँग कुनै सरसल्लाह नगरेको स्पष्ट पारिसकेका छन् । ‘संसद अधिवेशन अन्त्यको विषयमा सभापतिज्यू र प्रधानमन्त्रीज्यूको भेटको क्रममा कुनै जानकारी भएन,’ कांग्रेसका एक शिर्ष नेताले भने, ‘संसद अधिवेशन अन्त्य हुनुभन्दा अघिल्लो दिन भेट हुँदा पनि यसबारे केही जानकारी नदिएकोमा हाम्रो आपत्ति छ । त्यो दिन सभापतिज्यूले संवैधानिक नियुक्तिबाहेक अरु विषयमा छलफल गर्नु भएन ।’
कांग्रेसले नेकपाको आन्तरिक विवादमा आफूहरु नजोडिने पनि बताएको छ । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले ओली र देउवाको भेटका क्रममा एमसीसीको विषयमा छलफल भएको बताएको छ । देउवाले थाहा दिएनन् असार १८ गते ओलीसँगको भेटबारे कांग्रेस सभापति देउवाले आधिकारिक रुपमा पार्टीमा जानकारी नदिएको कांग्रेसका नेताहरुले बताएका छन् । ‘सभापतिज्यूले नेकपाको विवाद उत्कर्षमा पुगिरहेका बेला ओलीसँग सरकार गठनको विषयमा सहमति जनाएको भन्ने हल्ला चलेकाले जवाफ दिनुपर्छ,’ नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘संवैधानिक नियुक्तिको विषयबाहेक अरुबारे पार्टीमा छलफल नभई एकलौटी निर्णय पक्कै भएको छैन होला । भएको रहेछ भने सभापतिज्यूले जवाफ दिनुपर्छ ।’
आजको कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीले नेकपाको आन्तरिक विवादको कारण अन्त्य गरेको संसद अधिवेशनको विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE