Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

अयोध्या नेपालमा नै पर्छ भन्ने भनाईमा सत्यता छ : ठोरीबासी

अहिले पनि सीताले प्रयोग गरेको लोरो सिलौटो, पानी खाने इनार उस्तै छ

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालकै वीरगन्ज पश्चिम ठोरीमा भएका भनेपछि अहिले प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको कार्यक्रममा राजकुमार राम अयोध्याका हुन जो विरगंज भन्दा अलिकति पश्चिम पट्टिको गाउँ (ठोरी) मा हो, अहिलेको अयोध्या नक्कली आयोध्या हो भन्नुभएको थियो ।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति विवादित हुदा हुदै पनि ठोरीबासी भने उत्साहित भएका छन् । सुमेरु पर्वत, ‘सीता गुफा’ वाल्मिकी आश्रम, अयोध्यापुरी पर्सा जिल्लाको सदरमुकाम वीरगन्जभन्दा ६५ किलोमिटर पश्चिममा अवस्थित ठोरी गाउँपालिकामा पर्छन । त्रेतायुगमा सीता वनवासमा जाँदा बसेको सीता गुफा ठोरीकै वडा नम्बर २ मा नै रहेको छ । बाल्मिकी आश्रम र अयोध्यापुरी भने ठोरीको नजिकै हालको चितवनमा पर्छ । वि.सं.२०३२ साल यता माडी ठोरी अलग भएपछि चितवनमा अयोध्यापुरी गाविस नै थियो । हाल त्यो माडी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्छ ।
माडीबाट नेपाल भारत सीमा छेउसम्म फैलिएको सुमेरु पर्वतको उत्तरतर्फ नेपालको काखमा सीता गुफा रहेको मान्यता छ । ‘यसको सामुन्नेमा चीता र ठुटे खोलाको पवित्र संगमस्थल छ । त्यो दुई नदिको संगमस्थलमा सीतामाताले स्नान गर्ने गरेको सुन्दै आएका छौं ।’ साविकको ठोरी गाविसका अध्यक्ष उद्धव सापकोटाले भन्नुभयो ‘ठोरीभन्दा थोरै पश्चिम चितवनमा बाल्मिकी आश्रम छ । जहाँ लव र कुशको जन्म भएको, शिक्षा दिक्षा लिएको र रामले छोडेको अश्वमेध घोडा समेत लवकुशले पक्रेर बाँधेको सुनेका छौं ।’ घोडा बाँधेको खम्बा अझै त्यहाँ रहेको छ । त्यो जोसुकैले देख्न सक्छ । उक्त कुरा रामायणमा पनि उल्लेख छ ।
त्रेतायुगमा सीता वनवासमा जाँदा बसेको सीता गुफा ठोरीकै वडा नम्बर २ मा नै रहेको छ । बाल्मिकी आश्रम र अयोध्यापुरी भने ठोरीको नजिकै हालको चितवनमा पर्छ । ठोरीकै हालको वडा नम्बर ३ साविकको निर्मलवस्ती गाविसमा रामनगर भन्ने ठाउँ पनि छ । यी ठाउँका नाम परापूर्वकालबाट नै सुन्दै र भनिदै आएको सापकोटाको भनाई छ । ‘पहिले जहाँ जहाँ राम त्यहाँ अयोध्या भनिन्थ्यो । पेटभरी खान समेत नपुग्ने नेपालीहरुले ऐतिहासिक ठाउँको अध्ययन अनुसन्धान र प्रवद्र्धन गर्न सकेनौं ।’ उहाँले भन्नुभयो ।
रामायणमा वर्णन गरिएको कुरा जनकपुर र अयोध्याको सम्बन्ध अनि रथ र दूरीको विषयमा प्रधानमन्त्री ओलीले बोलेको कुरामा सत्यता रहेको माडीबासीको भनाई छ । सापकोटाका अनुसार बाल्मिकी आश्रममा अहिले पनि सीताले प्रयोग गरेको लोरो सिलौटो, पानी खाने इनार (कुवा) सबै छ । ‘अयोध्यापुरी चाँही माडीमा पर्छ । अयोध्यापुरी ठोरीभन्दा करिब १५ किलोमिटर टाढा चितवन पर्छ ।’ ठोरीको सरस्वती मा.वि.का प्रधानाध्यापक केशव प्रसाद रेग्मीले भन्नुभयो ‘बाल्मिकी आश्रम नारायणी, रेवा र रापती नदिको छेउमा नै छ । रामायणमा बाल्मिकी आश्रम तीनवटा नदिको छेउमा पर्छ भनी उल्लेख गरिएको छ । यस्तो संयोग अरु ठाउँमा छैन ।’
बाल्मिकी आश्रम यहाँ भएपछि त्यसैको आसपासमा अयोध्या हुने कुरा रामायणमा पनि उल्लेख हुनुले ठोरी आसपासको स्थान ऐतिहासिक हो । यसको गम्भिर अध्ययनको खाँचो रहेको रेग्मीको भनाई छ ।
रामायणमा उल्लेख भएका ती ठाउँसँग प्रायः मेल खाने धेरै कुरा ठोरी गाउँपालिका र यसको आसपास छन् । त्यसको अध्ययन अनुसन्धान भएको छैन । न त राज्यले नै यता तर्फ ध्यान दिएको छ । त्रेता युगका राजा जनककी पुत्री जानकी (सीता) वनवास जाँदा बसेको सीता गुफा भनी अग्रजहरु सीता र रामको महिमा सुनाउँछन् । बाल्मिकी आश्रम पनि नजिकै छ । अनि अयोध्यापुरी त छिमेकमा गाविस नै थियो । यो सबैकुरा एक आपसमा मेलखाने भएकोले यसमा सत्यता हुन सक्ने ठोरीबासीको भनाई छ ।

WRITE COMMENTS FOR THIS ARTICLE