Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

जब मन्त्री नै प्याजमा ठगिए…

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री गरेका हुन्। व्यापारीले भने ४८ रुपैयाँ प्रतिकिलो खरिद गरेका थिए। उक्त प्याज मंगलबारसम्म प्रतिकिलो ६० देखि ७५ रुपैयाँसम्ममा पाइन्थ्यो।

साधारण वेषभूषा र मास्क लगाएर अनुगमनमा निस्किएका भट्टलाई अधिकांश व्यापारीले चिनेनन्। अनुगमनका क्रममा बढी मूल्य लिएको, प्याज लुकाएको, नचिनेका उपभोक्तालाई छैन भनेर फर्काएको अभियोगमा ७ वटा पसल सिल गरिएको थियो। बल्खु बजारको थोक बिक्रेता एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनील केसीलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले सुनाए।

ओझाका अनुसार प्याज लुकाउन प्रयोग गरिएको एक थान पिकअप भ्यान पनि नियन्त्रणमा लिई प्रहरीलाई जिम्मा लगाइएको छ। बल्खु बजारकै २ पसलबाट २ सय ४० बोरा प्याज सिल गरिएको थियो। मन्त्री भट्ट नेतृत्वको अनुगमन टोलीले थप कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई जिम्मा लगाएको छ। विभागले पनि बुधबारै बल्खु बजारमा अनुगमन गरेको छ। अनुगमनका क्रममा बल्खु बजारका ४ व्यापारीसँग स्पष्टीकरण सोधिएको छ। यसअघि कालीमाटी बजारका ३ जना व्यापारीसँग मंगलबार स्पष्टीकरण सोधिएको थियो।

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको असर नेपाली बजारमा परेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले सोमबारदेखि सबै प्रकारको प्याज निर्यातमा रोक लगाएको हो।

दक्षिण भारतमा ठूलो पानी परेका कारण उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएका कारण भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यात रोकेको हो। पानी परेका कारण भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायत स्थानका प्याजको उत्पादनमा असर पुगेको छ।

नेपालमा खपत हुने प्याजको कुल मागमध्ये झन्डै ९८ प्रतिशत भारतबाटै आयात हुन्छ। व्यापारीले अघिल्लो साता सस्तो मूल्यमा आयात गरेको प्याज अत्यधिक मूल्यमा बिक्री गर्न थालेका छन्।

कालीमाटी तरकारी बजारका उपनिर्देशक विनय   श्रेष्ठले शनिबार ५४ रुपैयाँ प्रतिकिलो रहेको सुनाए। त्यसको थोक मूल्य आइतबार ५९, सोमबार ६० र मंगलबार ७५ रुपैयाँ कायम गरिएको थियो। खुद्रा पसलमा भने प्याज १ सयदेखि १ सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

नेपालमा ५ लाख मेट्रिक टन प्याजको माग छ। सरकारी दाबीअनुसार स्वदेशमा १ लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ। बाँकी माग आयातले धानेको छ। कालीमाटी बजारमा आइतबार र सोमबार १ हजार ४ सय २३ टन प्याज आपूर्ति भएको थियो। यसमध्ये १ हजार ४ सय २० टन भारतबाट आयात भएको थियो भने बाँकी स्वदेशी उत्पादन हो। सामान्य समयमा काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन प्याज खपत हुन्छ।

यससमध्ये कालीमाटीमा ७० मेट्रिक टन, बल्खु र बानेश्वरमा ३०र३० मेट्रिक टन कारोबार हुन्छ। यी तीन बजारबाहेक अन्य तरकारी बजार, थोक र किराना पसलबाट थप ५० मेट्रिक टन कारोबार हुन्छ। उक्त बजारमा गत साउन र भदौमा ३ हजार ८ सय २ टन प्याज आपूर्ति भएकोमा ३ हजार ३ सय ५८ टन भारतीय प्याजको हिस्सा थियो। गत आर्थिक वर्षमा २४ हजार २ सय ७२ टन प्याज उक्त बजारमा आपूर्ति हुँदा भारतीय प्याजको हिस्सा २२ हजार ३५ टन थियो। नेपालमा वार्षिक रूपमा ६ अर्बभन्दा बढी मूल्यको प्याज आयात हुन्छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE