Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क !

२२ माघ
काठमाडौँ —
कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

‘लकडाउनका बेला अनलाइनबाट पढाएका थिए,’ एक अभिभावकले भने, ‘अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ ।’ सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको उनले बताए ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क मागेको हो । बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क तोकिएको छ । कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरू बताउँछन् । ‘पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग कलेजले फरक–फरक शुल्क लिन्छ,’ एक छात्राले भनिन्, ‘दोस्रो वर्षका सँग ८ लाखभन्दा बढी मागिएको छ । तेस्रो वर्षमा अध्ययनरतले ६ लाखभन्दा बढी तिर्छन्, पहिलो वर्षमा पढ्नेसँग पनि बढी शुल्क लिइएको छ ।’

कलेजले शुल्क तिर्न दबाब दिएपछि कतिपय अभिभावकले अतिरिक्त शुल्कसमेत बुझाइसकेका छन् । मागेजति शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षा फाराम भर्न नदिने र परीक्षाबाटै वञ्चित गर्ने चेतावनी कलेज प्रशासनले दिने गरेको विद्यार्थीहरूले गुनासो गरे । असन्तुष्ट विद्यार्थीले कलेज प्रशासनलाई निवेदन दिन हस्ताक्षर संकलन गरिसकेका छन् । ‘सरकारले तोकेको शुल्क त कार्यान्वयन भएकै छैन, कलेजले आफूखुसी शुल्क लिन्छ,’ एक विद्यार्थीले भने । गतवर्ष देशभरका चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित भएपछि कलेज सञ्चालकले अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच २०७६ मंसिरमा शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने सहमति भएको थियो । कान्तिपुर डेन्टल कलेजले शुल्क समायोजन गर्नुको साटो बढी रकम असुल्न थालेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेज सञ्चालकले शिक्षा मन्त्रालयसँग लिखित रूपमा बढी शुल्क नलिने र लिएको भए फिर्ता गर्ने सहमति गरेका थिए । कान्तिपुर डेन्टल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज कलेज हो । यहाँ बीडीएसको प्रत्येक ब्याचमा ४५ जना अध्ययन गर्न पाउने कोटा तोकिएको छ । एउटै ब्याचका विद्यार्थीबाट ८ लाखको दरले अतिरिक्त शुल्क उठाउँदा करोडौं रकम हुन आउँछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE