जनशक्ति अभावमा भेन्टिलेटर लगायत करोडौँका स्वास्थ्य उपकरण थन्किए
८ बैशाख,काठमाडौँ – करोडौँ रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएका छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा गएको वर्ष खरिद गरिएका भेन्टिलेटर सहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएका हुन् ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले जनशक्ति अभावमा भेन्टिलेटर सहितका उपकरण प्रयोगमा नआएको बताउनुभयो । करिब १ करोड ५० लाख बराबरका भेन्टिलेटर, आईसीयू मेसिन, आईसीयू बेड, अक्सिजन लगाउने मेसिन, बिरामी जाँच गर्ने प्यासेन्ट मनिटर लगायतका महत्त्वपूर्ण सामाग्री सञ्चालनमा नआएको निमित्त प्रमुख बुढाथोकीको भनाइ छ ।
जिल्ला अस्पताल सल्ले रुकुम पश्चिमका डाक्टर राजकुमार भुजेलले सामाग्री खरिदको बेला एक दिन मात्र प्रदेश सरकारले तालिम दिएको बताउनुभयो । एक दिनको तालिममा सहभागी स्वास्थ्यकर्मीले भेन्टिलेटर मेसिन खोल्न र बन्द गर्न मात्र सिक्ने उहाँको भनाइ छ ।
‘डाक्टर भनेपछि सबै भइहाल्छ भनेर पन्छिने प्रवृत्ति भयो,’ डा. भुजेलले भन्नुभयो, ‘महंगो सामाग्री खरिद गरेर जनशक्ति व्यवस्थापन तर्फ भने कसैको ध्यान गएन ।’
थन्किएर रहेका करोडौँका उपकरणहरु सञ्चालनको लागि उपयुक्त जनशक्ति व्यवस्थापनको लागि स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा ध्यान नदिएको अस्पतालको अस्पतालको गुनासो छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE