मतदाता प्रभावित पार्न बजेट ल्याइएको होइन : अर्थ मन्त्री पौडेल
१६ जेठ, काठमाडौँ – सरकारले मतदाता प्रभावित पार्नका लागि बजेट नल्याएको बताएको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले ल्याएको अनुमानित आय व्यय बजेटको सम्बन्धमा आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभयो । अर्थ मन्त्री विष्णु पौडेलले सरकारले कोरोना महामारी नबिर्सिएको र मुख्य चुनौतीको रूपमा स्वीकार गरेर त्यहीअनुसार राजस्वका नीति र कार्यक्रमका साथमा आउँदो वर्षको बजेट आएको बताउनुभएको हो ।
सरकारले प्रभावकारी पहलकदमीको साथमा नेपाली नागरिकलाई समयमै खोप उपलब्ध गरायो भनेर समाचार र सम्पादकीय लेख्ने ढङ्गले सरकारले काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजस्वको लक्ष्यहरू निर्धारण गरिएको स्पष्ट पार्नुभयो । उहाँले सरकारले मतदाता प्रभावित पार्न नभइ अभिभारा पूरा गर्न बजेट ल्याएको बताउनुभयो ।
संवैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै अर्थ मन्त्री पौडेलले चुनावपछि पनि नागरिकको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताउनुभयो । उहाँले बजेटले वर्तमान चुनौतीहरूलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरू पनि हासिल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कतिपयले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएको भन्दै कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै उहाँले संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको बताउनुभएको छ ।
मन्त्री पौडेलले भन्नुभयो, संवैधानिक प्रबन्ध भयो भएन भनेर द्विविधा राख्नुपर्ने अवस्था छैन । यो संवैधानिक प्रबन्धअनुसार नै आएको छ । देशको आर्थिक क्रियाकलापलाई निरन्तरता दिने कामबाट सरकार पन्छिनु हुँदैनथ्यो । त्यसैले पनि सरकारले बजेट ल्याउनुपर्थ्यो । अर्को विकल्प थिएन । यस्तो अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी उपयुक्त हुन सक्तैन ।
उहाँले दक्षिण एशियामा खोप प्रयोग गर्ने दोस्रो देश भए जसरी नै प्रत्येक नागरिकलाई खोप दिलाउने सन्दर्भमा पनि तुलनात्मक रूपमा नेपाल अग्रपङ्क्तिमा उभिने विश्वास दिलाउनुभयो । बजेटमा नागरिकको जीवन रक्षाका लागि सम्पूर्ण स्रोत, साधन र क्षमता लगाउने र जीवन रक्षा गर्ने प्रतिबद्धताका साथ सरकार प्रस्तुत भएको उहाँले उल्लेख गर्नुभयो । मन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोप सेवा उपलब्ध गराउने काममा केन्द्रित भएर लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE