Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

पूर्वसांसद हरिभक्त अधिकारीको निधन

३१ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतवार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिनुभयो ।

नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । पौडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ २०५६ सालको आमचुनावमा नेपाली कांग्रेस लमजुङको तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो ।

‘उहाँले देखाउनुभएको बाटोमा हिँड्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सचिव हरिप्रसाद बरालले भन्नुभयो, ‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्दछौँ ।’

‘नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद हरिभक्त अधिकारीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँको निधनले कांग्रेसले एक असल नेता गुमाएको छ’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

WRITE COMMENTS FOR THIS ARTICLE