डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप कति प्रभावकारी ?
डेल्टा भेरियन्टविरुद्ध जोन्सन एण्ड जोन्सनको खोप कति प्रभावकारी ?
एजेन्सी– जोन्सन एण्ड जोन्सनद्वारा उत्पादित कोरोना खोप (जान्सेन) कोरोना संक्रमणका निकै संक्रामक डेल्टाविरुद्ध निकै कम प्रभावकारी रहेको पाइएको छ ।
मंगलबार सार्वजनिक एक अध्ययन अनुसार उक्त खोप डेल्टा भेरियन्टविरुद्ध ३३ प्रतिशतमात्र प्रभावकारी रहेको पाइएको हो ।
यस अध्ययनअनुसार दुई डोज दिनुपर्ने खोप लगाएका मानिसहरुमा जान्सेन खोपको तुलनामा एन्टिबडीको मात्रा पनि दोब्बरभन्दा बढी देखिएको थियो ।
जान्सेनको खोप लगाएका मानिसहरुलाई अर्कै खोपको थप एक डोज आवश्यक हुन सक्ने शोधकर्ताहरुले बताएका छन् । हालसम्म अमेरिकामा एक करोड ३० लाखभन्दा बढी अमेरिकी नागरिकहरुले सो खोप लगाएका छन् ।
अमेरिकामा पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलन थालेसँगै गरिएको अध्ययनबाट यस्तो तथ्य सार्वजनिक भएको हो ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारीअनुसार बुधवार अमेरिकामा भेटिएका नयाँ संक्रमितमध्ये ८३ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पाइएको छ ।
डेल्टा भेरियन्टको अमेरिकाको करीब सबैजसो राज्यमा संक्रमण बढाउन महत्वपूर्ण भूमिका देखिएको छ ।
अध्ययनको नेतृत्व गरिरहेका डाक्टर नाथानेइल लान्डाउले, ‘हामी जान्सेन खोप मानिसहरुलाई लगाउनै हुँदैन भन्ने सन्देश दिन चाहँदैनौं । तर भविष्यमा जान्सेन खोप लगाएका मानिसहरुलाई जान्सेन वा फाइजर वा मोडेर्नाको अर्को डोज पनि आवश्यक पर्न सक्छ भन्ने हामीलाई लागेको छ ।’ न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले बताएका छन् ।
यो अध्ययनका लागि २७ जना कोरोना संक्रमितको रगतको नमुनाको अध्ययन गरिएको थियो । उनीहरुमध्ये १७ जनाले फाइजर वा मोडेर्नाको दुवै डोज खोप लिएका थिए भने १० जना मानिसले एक डोज जान्सेन खोप लगाएका थिए ।
सो अध्ययनका क्रममा जान्सेनको खोप लगाएका मानिसमा डेल्टा भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको स्तर पाँचदेखि सात गुणासम्म घट्ने गरेको पाइएको थियो । यद्यपि फाइजर र मोडेर्नाको खोप लगाएका मानिसमा भने यो भेरियन्टले आक्रमण गर्दा एन्टिबडीको स्तर तीनगुणाले मात्रै घटेको पाइएको थियो ।
यसअघि अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोपको एक डोज डेल्टा भेरियन्टविरुद्ध ३३ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE