Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै

७ साउन, काठमाडौँ – कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितिमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ।

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ। ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताए। अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE