चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी
१२ साउन, काठमाडौँ – बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् । चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो ।
कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउनुहुन्छ । “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रजाले भन्नुभयो, “ती बिरुवा रोपिए पनि संरक्षण हुनसकेको छैन, जसका कारण मह उत्पादनमा समेत असर परेको छ ।”
उहाँका अनुसार कालिका–११ मा करिब चार हजार चिउरीका बिरुवा छन् तर संरक्षण हुन नसक्दा बिरुवाको सङ्ख्या घट्दै गइरहेको छ । बिरुवाको संरक्षण गर्न सम्बन्धित निकायले चासो नदिँदा चिउरी संरक्षणमा असर परिरहेको उहाँ बताउनुहुन्छ । वडा नं ११ को चित्राम सामुदायिक वन र इन्द्रेणी सामुदायिक वनमा चिउरी पाइन्छ ।
स्थानीयवासी ज्ञानीमाया चेपाङले धेरथोर चिउरी रोप्ने काम भए पनि संरक्षण हुन नसक्दा मौरीपालन व्यवसाय फस्टाउन नसकेको बताउनुहुन्छ । “चेपाङ समुदायमा अझै पनि चिउरीको महत्व र यसका फाइदा बुझाउन सकिएको छैन, चेतना अभावका कारण पनि चिउरीको संरक्षण हुनसकेको छैन”, उहाँले भन्नुभयो, “चिउरीको फल सुकाएर तेल निकालिएको छ, यसको फल खाएर स्वस्थ जीवन जिउन पाइएको छ, यसको घाँसबाट गाई, भैँसी, बाख्रा पालिएको छ । यस्तो बहुउपयोगी फलको संरक्षणमा चासो कम भइरहेको छ ।”
कालिका–१० का वडाध्यक्ष दिलबहादुर गुरुङ चिउरीको पकेट क्षेत्र छुट्याएर तारबार गरी नेट जाली हालेर संरक्षण गर्न सकिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चिउरीको संरक्षण नहुँदा मह उत्पादनमा कमी आएको छ ।” वडा नं १० को बटौली सामुदायिक वन, देउजर सामुदायिक वन र निधाटार सामुदायिक वनमा चिउरीको बिरुवा पाइन्छ ।
उहाँका अनुसार एउटा चिउरीको बिरुवालाई कम्तीमा पाँच वर्ष संरक्षण गर्नुपर्छ । कम्तीमा १२ वर्षमा बल्ल चिउरी फल्न र फुल्न थाल्छ । उहाँले भन्नुभयो, “चिउरी रोपेको १५ वर्षपछि बल्ल यसको फाइदा लिन सकिन्छ, तर दुईरतीन वर्षमै चिउरी मासिएको छ ।” विगतका वर्षमा कालिका नगरपालिका, डिभिजन वन कार्यालय चितवन, मौरीपालन विकास कार्यालय भण्डाराले चिउरी रोपनको कार्यक्रम चलाएका थिए तर पनि चिउरीको संरक्षण हुन सकिरहेको छैन ।
चितवनको मौरीपालन विकास कार्यालय भण्डाराले नगरपालिकाका पहाडी वडाहरुमा वर्षको एक हजारको हाराहारीमा चिउरीको बिरुवा पठाइरहेको छ । कार्यालय प्रमुख बाबुराम पन्तले यस वर्ष पनि एक हजारको हाराहारीमा चिउरीका बिरुवा पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवाको संरक्षणमा सम्बन्धित पालिका र डिभिजन वन कार्यालयले चासो दिनुप¥यो, चिउरीको बिरुवा संरक्षण नहुँदा भने जति मह उत्पादन हुनसकिरहेको छैन ।”
नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिव शर्मा पौडेलले चिउरी जोगाउन सके चितवनको चिउरीको मह नेपालमा मात्र होइन, विश्वमै ख्याति कमाउन सक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चिउरीको फूल चुसेर मौरीले निकालेको मह स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ, तर चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आइरहेको छ ।” उहाँका अनुसार चिउरी फुलेको समयमा सो क्षेत्रमा झण्डै १०० मौरी किसान मौरीका घार लिएर पुग्छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE