प्रतिगमनकारीलाई शीरमा राखेर एउटै पार्टीमा बस्न सक्दैनौँ : झाँक्री
१६ साउन, काठमाडौँ – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी रहेको बताउँदै उनलाई शीरमा राखेर एउटै पार्टीमा बस्न नसकिने बताएकी छिन् । शनिवार एमाले माधव नेपाल समूहको अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टीमा दुई नेताको जुङ्गाको लडाई मात्र नभई गम्भीर राजनीतिक विचलन भएको बताइन् । झाँक्रीले २ तिहाई बहुमत भएको पार्टी आज सदनमा जाँदा ८३ जनामात्र उपस्थित हुने वातावरण कसरी बन्यो ? निर्विकल्प रुपमा उदय भएको कम्युनिष्ट पार्टीको विघटन किन भयो ? यसको जवाफ नखोजी पार्टी एकताका लागि वार्तामा गएका पात्रहरूको गाला जोडाएर मात्र पार्टी एकता नहुने बताइन् ।
उनले भनिन्– ‘आज कतिजना वार्ता गर्दैछन् यो महत्वपूर्ण हैन । आज कुन एजेण्डामा कसले कुरा गर्दैछ यो महत्वपूर्ण हो । कुन दर्जाका व्यक्तिले वार्ता गर्दैछन् सवाल यो महत्वपूर्ण हैन, आज सैद्धान्तिक, नैतिक, वैचारिक हिसावले को खडा भएको छ त्यो महत्वपूर्ण हो ।’
पूर्वप्रधानमन्त्री ओलीलाई उनको आफ्नै स्वेच्छाचारिक र अलोकतान्त्रिक क्रियाकलापका कारण बालुवाटारबाट बाल्कोटको बार्दलीमा पुर्याएको नेतृ झाँक्रीले बताइन् । उनले एमाले वार्ता टोलीमा रहेका सदस्यहरूप्रति आक्रोसित हुँदै भनिन्– ‘वार्ता समितिमा रहेका साथीहरुले आज मिलाउने, भोलि मिलाइदिने, टुङ्ग्याइदिने भन्दै हुनुहुन्छ । ४ बुँदे र १० बुँदेका थुप्रै प्रस्तावहरू हामीले मिडियामा देखिरहेका छौँ । यी थुप्रै कुरा र पावर सेयरिङका कुराहरु भन्दा अगाडि कम्युनिष्ट आन्दोलनको विसर्जन कसले गर्यो ? यो विषयको सैद्धान्तिक प्रश्नमा हामी एकै ठाउँ उभिनु पर्छ कि पर्दैन । आज हामी पार्टी एकता त गरौंला केपी कमरेडको अध्यक्षतामा बसेको बैठकको सदस्य भइरहँदा यो कम्युनिष्ट आन्दोलन धरासायी पार्ने प्रमुख व्यक्ति तपाई हो भन्दै गर्दा उनले आफू आत्मआलोचित भएर पार्टीको अध्यक्षबाट राजीनामा दिने चेष्टा गर्नुहुन्छ कि गर्नुहुन्न ? यदि उहाँले राजीनामा दिनु हुन्न भने उहाँले गरेका कुरालाई स्वीकार गरेर हामी उहाँको सदस्य बन्छौँ कि बन्दैनौँ ?’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE