Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

(एमसीसी) उपाध्यक्षको एमाले अध्यक्ष ओलीसँग भेट

२४ भदौ,काठमाडौैँ-बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले आजै दिउँसोदेखि राजनीतिक भेटघाट थाल्ने भएको छ। उपाध्यक्ष फतिमाको पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग हुने बताइएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन्। काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी थिइन् । नेपाल आइपुगेका उपाध्यक्ष सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ।

कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो।

उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट नेपाललाई ५० अर्ब सहयोग प्राप्त हुनेछ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE