समिक्षालाई आएको त्यो निमन्त्रणा
७ अश्विन, काठमाडौं – बुधबार दिउँसो ३ बजेका लागि भन्दै मिडियाकर्मीलाई एउटा निमन्त्रणा आयो । निमन्त्रणामा लेखिएको एउटा हरफमा सबैको ध्यान जानु स्वभाविक नै थियो । जसमा लेखिएको थियो–‘सबै कलाकारको उपस्थिती हुने हुँदा गीत बाहेक बाहिरको प्रश्न गर्न नपाइने बाचा ।’
कार्यक्रममा पत्रकारलाई निम्तो गर्दा नै यो प्रश्न गर्न पाइने र यो नपाइने भनेर बाचा नै गर्न लगाइएको उदाहरण यसअगाडि छैन । कार्यक्रममा पुगेका पत्रकारहरुलाई गीतको बाहेक अन्य प्रश्न नगर्नका लागि आग्रह गर्न सकिन्छ । तर, निमन्त्रणामा नै बाहिरी प्रश्न गर्न नपाइने भनेर बाचा नै गर्न लगाइनु संचारकर्मीहरुको अपमान हो ।
यस्तो सन्देश पाएर पनि यो कार्यक्रममा सहभागी हुन धेरै मिडियाकर्मी अनामनगरको एक रेष्टुरेन्टमा पुगेका थिए । नेत्र भण्डारी र समिक्षा अधिकारीको स्वरमा समावेश गीत रिलिज तथा गायकको जन्मदिनको केक काट्ने कार्यक्रम राखिएको थियो । कार्यक्रममा गायिका समिक्षा अधिकारी पनि पुग्नुभयो ।
रोचक कुरा त के थियो भने, आयोजकले पत्रकारलाई समिक्षा अधिकारी र नायक तथा मोडल पल शाहको बिषयमा पछिल्लो समय चलिरहेको गसिपको प्रश्न नसोध्न फेरि पनि आग्रह गर्नुभयो । यसका लागि मिडियाकर्मी पनि तयार हुनुभएको थियो ।
गायिका समिक्षा अधिकारीले गीतको लागि बाँकी रहेको लिप्सिङको भिडियो सुट गर्नुभयो। यो भिडियो सुट गरेपछि समिक्षा कार्यक्रम हलमा नै प्रवेश नगरी बाहिरिनुभयो । पत्रकारहरुले करिब २ घन्टा पर्खिनुभयो । तर, समिक्षा सुटुक्क हिडेपछि आयोजक पनि अलमलमा नै पर्यो ।
यस्तै, मोडल एलिसा राइले आफू १० मिनेटका लागि भएपनि आउने जानकारी दिनुभएको थियो । तर, उहाँ पनि कार्यक्रममा उपस्थित हुनुभएन ।गायक नेत्र भण्डारीले समिक्षाले थाहा नै नदिई हिडेको भन्दै दुःख व्यक्त गर्नुभयो। यसबाट पनि पछिल्लो समयमा उदाएका केही कलाकार तथा गायक–गायिकाले मिडियाकर्मीको समयलाई कती हलुका रुपमा लिन्छन् भन्ने प्रष्ट हुन्छ ।
यतिमात्र होइन, उहाँहरुले थोरै भएपनि व्यवसायिक धर्म देखाउन नसकेको स्पष्ट छ । गायिका समिक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडिया फेस गर्न डराइरहेकी देखिनुहुन्छ । भलै, उहाँले यो कार्यक्रममा आफू उपस्थित भएपनि गीत रेकर्डिङका लागि समय दिएकाले चाडैं निस्कनुपरेको भन्दै स्टाटस लेख्नुभएको छ । तर, आयोजकले उहाँकै कारण गीत भन्दा बाहिरको प्रश्न सोध्न नपाइने वाचा नै मिडियाकर्मीलाई गराउनु परेको थियो ।
पल र समिक्षाको निकटताको बिषयमा गसिप बजार केही समयदेखि तरंगित छ । यस्तो, समयमा समिक्षा यो कुराबाट भाग्न खोजेको कुरा त सजिलै वुझ्न सकिन्छ । समिक्षा यो गसिपबाट कहिलेसम्म भाग्ने ? के बजारमा आएको गसिपका बिषयमा स्पष्ट जवाफ दिएर आफ्नो भनाई सार्वजनिक गर्ने आँट समिक्षाले गर्लिन् ? होइन भने, पत्रकारलाई २ घन्टा कुराएर गायिका र मोडलकै कारण कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आउनु आफैमा दुःखद कुरा हो ।
स्टारडम आज छ भोली छैन । केही समय चल्दा आफूलाई भयंकर सोच्ने सर्जकहरु विस्तारै क्रेज कमजोर हुन थालेपछि मिडियाकै सहारामा टिक्ने कोशिश गर्छन् । यसैले, चलेको र बलेको बेलामा व्यवसायिकता पनि प्रदर्शन गर्नु कलाकर्मीको धर्म होइन र ?
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE