Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सङ्खुवासभा हत्या प्रकरण : हत्याका आरोपी आज सार्वजनिक गरिँदै

२७ भाद्र,सङ्खुवासभा- सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संलग्न भएको आरोपीलाई आज(आइतबार) सार्वजनिक गरिँदै छ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मादी–१ उम्लिङ खोला गाउँका २६ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार पक्राउ गरेको थियो।

उनलाई आइतबार चैनपुरमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो।

इलाका प्रहरी कार्यालय चैनपुरमा हुने पत्रकार सम्मेलनमा प्रदेश नं १ का प्रहरी प्रमुख डीआइजी अरुणकुमार बीसी, सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) टोलीका डीएसपी रुगम कुँवरसमेत उपस्थित हुने प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो।

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी) लगायत टोली अनुसन्धानका लागि घटनास्थल आइपुगेको थियो। ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ । लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन्।

लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए।

लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE