Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्दै

१ आश्विन, काठमाडौँ – दसैं मनाउन उपत्यका बाहिर जानेका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन्।

‘प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरिरहेको छ। भाडा नबढेसम्म हामीले बुकिङ खुल्ला नगर्ने अडान लिएका थियौं। यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै हामीले बुकिङ खुल्ला गर्ने निर्णय गरेका छौं,’ सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले  भन्नुभयो।

प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दसैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनु पर्ने माग आफूहरूले राखेको उहाँले बताउनुभयो।

त्यस्तै पुरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने सवारीका लागि बसपार्क नहुँदा दसैंको समयमा निकै ठूलो समस्या पर्ने उहाँले गुनासो गर्नुभयो।

पुरानो बसपार्कबाट छोटो तथा मध्यम दूरीका १० जिल्लाका लागि बस छुट्छन्। तर बसपार्कमा महानगरपालिकाले रोक्न दिएको छैन। कोटेश्वर सडकमा बस पार्किङ गर्दा सडक नै अस्तव्यस्त बन्ने गरेको छ,’ उहाँले भन्नुभयो।

अरनिको राजमार्गमा चल्ने सवारीका लागि ट्राफिक प्रहरी कार्यालय तिनकुनेदेखि बालकोटसम्मको करिडोरमा गाडी राख्ने व्यवस्था मिलाउनसमेत महासंघले आग्रह गरेको उहाँले बताउनुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE