Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

‘एमसिसीका नाममा अनेक दाउपेच’

२ आश्विन काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसीलगायतका विषयलाई जोडेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताउनुभएको छ। काठमाडौंको मीनभवनस्थित आलोकनगरमा शुक्रबार पार्टी कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले भननुभयो, ‘एमसिसीका नाममा अनेक किसिमका दाउपेच चलिरहेका छन्।

सत्ता गठबन्धनलाई भाँड्ने र तोड्ने प्रयासहरू भइरहेका छन्। विभिन्न भ्रम सिर्जना गर्ने काम भइरहेका छन्। कुनै पनि भ्रममा नपरी अघि बढ्न म आग्रह गर्दछु।’ उहाँले सत्ता गठबन्धन भत्काउने दाउपेच सफल नहुने दाबी गर्नुभयो।

अध्यक्ष नेपालले अब संसद्मा पार्टीको भूमिका स्वाभाविक रुपमा सत्ता पक्षको हुने बताउनुभयो। नेकपा एस सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा भएकाले सरकार सञ्चालनमा सहयोगी भूमिका हुने उहाँको भनाइ थियो। ‘हामी सत्ता गठबन्धनसँग सहकार्य गरेर अघि बढ्नेछौं। हामीले संघीय सरकारसँगै प्रदेश सरकामा पनि सहभागी भएर, सहकार्य गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौं,’ उहाँले भन्नुभयो।

अध्यक्ष नेपालले आफूहरू तल्लो तहसम्म पनि सहकार्यको संस्कृति लिएर जाने बताउनुभयो। उनले सत्ता गठबन्धनविरुद्ध फैलाइएका भ्रम चिर्दै र लगाइएका आरोपको सशक्त खण्डन गर्दै अघि बढ्ने बताउनुभयो।

अध्यक्ष नेपालले ५ गते केन्द्रीय समितिको बैठक डाकिएको र उक्त बैठकपछि सम्भवतः आफ्नो पार्टी सरकारमा सहभागी हुने बताउनुभयो। उनले प्रदेश १ र वाग्मती प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको जानकारी पनि दिनुभयो। उनले जुनसुकै बेला पनि ती प्रदेशमा नयाँ सरकार गठन हुने बताउनुभयो।

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा भीम आचार्यले सरकारको नेतृत्व गरिरहेका छन्। दुवैजना एमाले विभाजन हुनुअघि नेता नेपालको पक्षमा हुनुहुन्थ्यो। पार्टी विभाजनका क्रममा उनीहरू नेपाललाई छाडेर एमालेमै बस्नुभएको हो। नेपालले विगतमा आफूलाई साथ दिएका र अहिले एमालेमा रहेका नेता–कार्यकर्तालाई नेकपा एसमा आउन सधैँ ढोका खुला रहेको बताउनुभयो।

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले एमसिसीका लागि सीमा नाघेर हस्तक्षेप गराउने काम गरेको आरोप लगाउनुभयो। उहाँले यस विषयमा जनताको मानसिकतालाई पनि ध्यानमा राखिने बताउनुभयो। नागरिक दैनिकबाट

WRITE COMMENTS FOR THIS ARTICLE