Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

ओलीको दम्भ अब धेरै टिक्दैन : माधव नेपाल

९ आश्विन, हेटौंडा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ अब धेरै नटिक्ने बताउनुभएको छ । शनिबार हेटौंडामा पार्टीका मकवानपुर जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई तिहाइ मत प्राप्त गरेको सरकारले जनअपक्षेलाई लत्याएका कारण ओलीको दम्भ नटिक्ने बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टीले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त र मान्यतालाई आत्मसात गरेको भन्दै विरोधीहरुले नेकपा एकीकृत समाजवादीले जबजलाई त्यागेको भन्ने हल्ला निरर्थक भएको बताउनुभयो । उहाँले जबजको मूल्यमान्यता विपरीत चल्ने ओलीले छरेको भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले विधि विधान नमान्ने र संविधान मिच्ने ओली नेतृत्वको पार्टीलाई आगामी निर्वाचनमा टर्च बालेर खोज्नु पर्ने अवस्था आउने बताउनुभयो । उहाँले आफ्नो पार्टीले देशको वैकल्पिक शक्तिका रुपमा अभियान सुरु गरेको र अन्य दलहरुको समेत साथ पाएर देशकै ठुलो शक्तिका रुपमा काम गर्ने दावी गर्नुभयो ।

अध्यक्ष नेपालले ओलीको विधि विधान विपरीत एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षड्यन्त्रमा लागेकाले लोकतन्त्रको रक्षाका लागि नेकपा एकीकृत समाजवादी पार्टीको स्थापना भएको बताउनुभयो । उहाँले एकीकृत समाजवादी पार्टीले आगामी दिनमा कम्युनिष्ट आन्दोलनको नेतृत्व, देश र जनताको हितका लागि काम गर्ने दावी गर्नुभयो । देश र जनताको हितका लागि तल्लो तहदेखि छलफल र सहकार्य गर्दै नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो अभियानलाई जारी राख्ने र जनताको दुःखमा सहयात्री बन्ने उहाँको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE